नेपाललाई रुसको सहयोग, २ करोड ५० लाख डोज खोप दिने

काठमाडौं । नेपाललाई रुस सरकारको सार्वभौम सम्पत्ति कोषले २ करोड ५० लाख डोज कोभिड-१९ खोप उपलब्ध गराउने भएको छ । कोषले मंगलबार ट्रिनिटी फर्मास्युटिकल्समार्फत नेपाललाई आफ्नो सम्भावित कोभिड–१९ खोप उपलब्ध गराउने सहमति भएको जनाएको छ ।
यस सहमतिअनुसार नेपालको ९० प्रतिशत जनसंख्यालाई रुसको सम्भावित कोभिड-१९ खोप ‘स्पुतनिक-भी’ उपलब्ध गराउन सकिने जनाइएको छ । रूसी खोपको क्लिनिकल परीक्षणहरूले कुनै गम्भीर प्रतिकूल असर नदेखाएको र ‘स्पुतनिक भी’ले शतप्रतिशत सहभागीहरुमा स्थिर ‘ह्युमरल र सेलुलर’ प्रतिरक्षा प्रतिक्रिया उत्पन्न गरेकोसमेत जनाइएको छ ।
११ अगस्तमा, जामिलिया नेशनल रिसर्च इन्स्टिच्युट इपिडिमियोलोजी र माइक्रोबायोलोजीद्वारा विकसित ‘स्पुतनिक भी’ खोप रसको स्वास्थ्य मन्त्रालयमा दर्ता गरेको थियो । मानव एडिनोभाइरल भेक्टर प्लेटफर्ममा आधारित कोभिड-१९ विरुद्धको विश्वमा दर्ता भएको पहिलो खोप भएकोसमेत दाबी गरिएको छ ।
४ सेप्टेम्बरमा, ‘स्पुतनिक भी’ पहिलो र दोस्रो चरणको क्लिनिकल परीक्षणको नतिजाबारेमा ल्यान्सेट जर्नलमा प्रकाशित गरिएको थियो । यो खोप रुस राष्ट्रपति भलाद्मिर पुटिनले आफ्नो छोरीलाई पनि लगाइसकेको बताएका थिए ।

प्रतिकृया दिनुहोस्