कामदार लैजान र कृषिको विकासमा इजरायल र नेपालबीच सम्झौता

काठमाडौ । नेपाल र इजरायलबीच श्रम सम्झौता भएको छ । इजरायलका लागि नेपालकी राजदूत अन्जान शाक्य र इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीबीच बुधबार इजरायलमा श्रम सम्झौता र कृषि क्षेत्रमा नेपाललाई सहयोग गर्ने सम्बन्धमा हस्ताक्षर भएको हो ।
नेपालको सातवटै प्रदेशमा एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स स्थापना गर्ने सम्बन्धमा पनि हस्ताक्षर भएको छ । नेपाल र इजरायलबीच श्रमिक लैजाने र इजरायली अन्तर्राष्ट्रिय विकास साझेदार संस्था माशाभको तत्वावधानमा इजरायली कृषि प्रविधि नेपालमा भित्र्याउने उद्देश्यले ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्ने सम्बन्धमा हस्ताक्षर भएको छ ।
परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेका अनुसार एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्समार्फत नेपालमा इजरायलबाट कृषि क्षेत्रमा सुधार गर्ने र यसले गर्दा नेपालमा उत्पादन र स्वरोजगार बढ्न समेत बढ्ने बताए ।
इजरायलस्थित नेपाली राजदूतावासका द्वितिय सचिव तथा प्रवक्ता अर्जुन घिमिरेका अनुसार दुई मुलुकबीच छलफल गरेर काम अघि बढाइने भन्ने सम्झौता भएको छ । उनले अहिले नेपालको तीन जिल्लाहरु झापा, लम्जुङ र गुल्मीमा यस सम्बन्धमा सर्वेक्षण पनि भइरहेको जानकारी दिए ।
सहसचिव घिमिरेका अनुसार नेपालले बुधबार इजरायलसँग भएको श्रम स्वीकृत उल्लेख गर्दै अब अन्य स–साना श्रम सम्बन्धी कामको लागि पनि बाटो खुला भएको बताए । उदाहरणको लागि अब नेपालीलाई इजरायलमा नर्सिङ क्षेत्रमा काम गर्न जाने बाटो खुलेको छ । यो सहमतिसँगै स्याहारसुसार केन्द्र (केयर सेन्टर) मा नेपाली श्रमिक जाने बाटो खुलेको हो । यसअघि घरमै बस्ने गरी केयर गिभरका रूपमा नेपालीलाई लगिएको थियो ।
केयर गिभरका लागि आकर्षक गन्तव्य मानिएको इजरायलमा यसअघि म्यानपावर कम्पनीले नै नेपाली श्रमिक पठाउँदै आएका थिए । श्रमिकसँग ९ लाख रुपैयाँसम्म लिएको भेटिएपछि सन् २००९ बाट म्यानपावर कम्पनीमार्फत श्रमिक पठाउन रोक लगाइएको थियो ।

प्रतिकृया दिनुहोस्