किशोरी बलात्कार गर्ने ५ जना आरोपी कारागार चलान

किशोरी बलात्कार गर्ने ५ जना आरोपी कारागार चलान
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बैतडी । बैतडीको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका ५ जनालाई कारागार चलान गरिएको छ । जिल्ला अदालत बैतडीले आरोपी पाँचै जनालाई पुपक्र्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

पक्राउ परेका सिगास गाउँपालिका–८ का खडक बोहरा, रामसिंह बोहरा, केशव बोहरा, दानसिंह बोहरा र एक जना नाम नखुलाएका व्यक्तिलाई कारागार चलान गरिएको डिएसपी अधिकारीले जानकारी दिए । नाम नखुलाएका व्यक्ति किशोरीका आफन्त पर्ने भएकाले नाम नखुलाएको प्रहरी स्रोतले जनाएको छ ।

किशोरीलाई पटक पटक बलात्कार गरेको कुरा किशोरीले बच्चा जन्माएपछि बाहिर आएको थियो । विवाह गरेर गएको घरमा किशोरीले ६ महिनामै बच्चा जन्माएपछि किशोरीमाथि बलात्कार भएको सार्वजनिक भएको हो । पीडित किशोरीलाई अहिले जिल्ला अस्पताल बैतडीको एकद्वार संकट व्यवस्थापन केन्द्रमा राखिएको छ ।