काम नसकी गाडी र उपकरण जिल्ला बाहिर लैजान रोक्ने दोलखा प्रशासनको निर्देशन

काम नसकी गाडी र उपकरण जिल्ला बाहिर लैजान रोक्ने दोलखा प्रशासनको निर्देशन
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । दोलखालाई राजधानीसँग जोड्ने जिल्लाको ‘लाईफलाईन’ खाडीचौर–चरिकोट सडकको बिस्तार कार्य अन्तर्गत मुडे–चरिकोट खण्डमा काम नगर्ने निर्माण कम्पनीलाई काममा फर्काउन दबाब सहित पहल थालेको स्थानीय प्रशासनले काम नसकुञ्जेल उक्त ठेकेदार कम्पनी र यो सडक सुधार आयोजनाका सवारी र उपकरणलाई सडक आयोजना क्षेत्र भन्दा बाहिर जानबाट रोक्ने कार्य थालेको छ ।

      प्रशासन स्रोतका अनुसार करिब महिना दिन अघि सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीले ठेकेदारलाई काममा फर्काएर सडक निर्माणको काम सम्पन्न गराउन कानुन अनुसार सबै हत्कण्डा प्रयोग गर्न लागेका हुन् । ‘सिडिओ सापले ठेकेदारका सबै गाडी र उपकरणहरु काम नसकुञ्जेल आयोजना स्थलबाट अन्यत्र पठाउन नदिने सम्मको तयारी थाल्नुभएको छ’ जिल्ला प्रशासनका एक कर्मचारीले भने । ठेकेदार कम्पनीसँगै सडक सुधार आयोजनाका प्रमुख र आयोजना मातहतका गाडीलाई समेत अत्यावश्यक काम बाहेक अरु समयमा जिल्ला बाहिर जान रोक लगाईएको छ ।

      ठेकेदार कम्पनी शंकर माली निर्माण सेवाले काम नगरेका कारण भारतीय एक्जीम बैंकको लगानीमा बिस्तार हुँदै गरेको यो सडक लामो समयदेखी अलपत्र छ । मुडेदेखी चरिकोट सम्म ३० किलोमिटर सडक अस्तव्यस्त हुँदा यात्रुले सास्ती ब्यहोर्ने गरेका छन् ।   प्रमुख जिल्ला अधिकारी शिवाकोटीले सम्झौता अनुसार यथासक्य काम अगाडी बढाउनका निम्ती पहल गरिएको बताए ।