सीमा क्षेत्रबाट चार लाख बढीको सामान बरामद

सीमा क्षेत्रबाट चार लाख बढीको सामान बरामद
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ । भारतसँग सीमा जोडिएको मोरङको विभिन्न स्थानबाट अवैधरूपमा ओसारपसार गर्न लगेको खाद्यान्न र लताकपडा प्रहरीले बरामद गरेको छ । प्रहरीले मोरङको विभिन्न स्थानबाट मंगलबार चोरी, तस्करी गर्दै गरेको चार लाख रुपैयाँ मूल्य बढीको खाद्यान्न र लताकपडा बरामद गरेको जनाएको छ ।

धनपालथान गाउँपालिका–१ स्थित गडेरियाका श्याम मण्डलको घरबाट ९० बोरो खाने सेतो मटर भारत निकास गर्न लाग्दै गर्दा बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । अवैधरूपमा लैजान लागेको सेतो मटरको मूल्य १ लाख ८० हजार रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, विराटनगर–१५ स्थित भन्सार कार्यालयको दक्षिण छेउबाट भारतबाट नेपालतर्फ चोरी तस्करी गरी ल्याइएको सामान सडक छेउमा बेवारिसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । प्लाष्टिकको बोराभित्र प्याक गरी ल्याइएको जुत्ता, कपडा तथा किराना सामान बरामद गरिएको हो । प्रहरीका अनुसार उक्त प्लाष्टिकभित्रका सामानको मूल्य १ लाख २६ हजार २ सय रुपैयाँ बराबरको रहेको हो ।

त्यसैगरी बुधबार बिहान विराटनगर–१४ स्थित हनुमान मन्दिर नजिकबाट प्रहरीले काजु र जिरा बरामद गरेको जनाएको छ । चोरी तस्करी गरी ल्याउँदै गरेको ९० केजी जिरा र ६० केजी काजु अन्दाजी बजार मूल्य १ लाख ८ हजार बराबर बरामद गरेको डिएसपी राईले बताए । बरामद गरिएका सबै सामान भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।

प्रहरी मंगलबार मात्रै जहदा गाउँपालिकाबाट भारतदेखि नेपाल ल्याउँदै गरेको ठूलो परिमाणको गहुँ र नेपालबाट भारततर्फ जैजाँदै गरेको मिक्सर दाल बरामद गरेको थियो । नेपालबाट मटर, सुपारी, मरिच र भारतबाट खाद्यान्न, कपडालगायत अन्य धेरै वस्तु चोरी तस्करी हुने गरेको छ ।