May 15, 2021, Saturday
२०७८ जेष्ठ १, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

प्रदेश १ मा ५ जना संक्रमितको मृत्यु

प्रदेश १ मा ५ जना संक्रमितको मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ । प्रदेश १ मा कोरोना भाइरस संक्रमित ५ जनाको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा २ पुरुष, विराटनगरकै कोसी अस्पताल आइसोलसनमा १ पुरुष र धरानस्थित बिपी कोइराला विज्ञान स्वास्थ्य प्रतिष्ठानमा २ पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रदेश १ मा कोरोना भाइरस संक्रमित र संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । मोरङको रंगेली र सुनसरीको धरान घर भएका कोरोना भाइरस संक्रमित दुई जना पुरुषको नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको छ ।

रंगेली–४ का ७२ वर्षीय संक्रमित वृद्धको बिहीबार राति ९ः३० बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ । ‘बुधबार बिहान श्वासप्रश्वासमा समस्या भएर ल्याइएका वृद्धलाई तत्काल आइसियूमा भर्ना गरेर उपचार थालेका थियौं,’ अस्पतालका प्रबन्धक नारायण दाहालले भने, ‘आइसियूमा उपचार थाल्दै स्वाब पिसिआर परीक्षणका लागि दियौं र नोबेलकै प्रयोगशालाबाट बुधबार राति रिपोर्ट पोजेटिभ आएसँगै थप उपचारका लागि आइसोलेसनमा भर्ना गरेका थियौं ।’ मृतकमा थाइराइड र फोक्सो सम्बन्धी पुरानै समस्या रहेको अस्पतालले जनाएको छ । 

त्यस्तै नोबेल अस्पताललमा उपचाररत सुनसरीको धरान–१२ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार बिहान ७ बजेतिर मृत्यु भएको हो । असोज १७ गते अस्पतालमा भर्ना गर्दा पुरुषलाई श्वास फेर्न गाह्रो हुने र फोक्सोमा संक्रमणको समस्या रहेको प्रबन्धक दाहालले जानकारी दिए । अस्पताल भर्नासँगै गरिएको स्वाब पिसिआर परीक्षणको रिपोर्ट राति पोजेटिभ आएपछि उनलाई १८ गते बिहान आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो ।

त्यसैगरी, इटहरी–४ घर भई मोरङ कारागारमा कैदीबन्दी रहेका २० वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणका कारण शुक्रबार बिहान १०ः १५ बजे कोसी अस्पतालको आइसोलेसनमा मृत्यु भएको छ । लागुऔषध मुद्दामा २०७६ माघ २१ गते पूर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको थियो । फैसला नहुँदै र मुद्दा विचाराधीन रहेकै अवस्थामा कोरोनाको संक्रमणबाट उनको मृत्यु भएको कारागारले जनाएको छ ।

‘उसको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि बिहीबार बिहान ७ बजेतिर कोसी अस्पताल लगेका थियौं,’ जेलर सुवास लामिछानेले भने, ‘कोरोनासँग मिल्ने लक्षण देखिएकाले आइसोलेसनमा राखेर उपचार थाल्दै स्वाबको पिसिआर परीक्षण गराउँदा राति रिपोर्ट पोजेटिभ आयो । त्यसपछि कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा थप उपचारका लागि पठाउन खोज्दा केन्द्रले बेड खाली नभएको बताएपछि अस्पतालकै आइसोलेसनमा राखेर उपचार ग¥यौं ।’ 

कोसी अस्पतालको आइसोलेसन संयोजक डाक्टर लक्ष्मीनारायण यादवका अनुसार उनलाई श्वासप्रश्वासमा धेरै समस्या रहेको थियो । आइसोलेसनमा कोरोनाको शंकास्पद बिरामीलाई प्रारम्भिक उपचारका लागि राखेर स्वाबको पिसिआर रिपोर्ट पोजेटिभ आए थप उपचारका लागि रेफर गर्ने गरिएको डाक्टर यादवले बताए । 

त्यसैगरी, धरानस्थित बिपी प्रतिष्ठानमा सुनसरीको इटहरी–६ का ६८ वर्षीय पुरुषको शुक्रबार बिहान साढे १२ र दुहबी नगरपालिकाका ५२ वर्षीय पुरुषको शुक्रबार बिहान २ बजे उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

यसैसँगै प्रदेश १ मा कोरोना भाइरसबाट २३ महिला र ७१ पुरुष गरी ९४ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।