रुखबाट खसेका बमलाई दक्षिण कोरियाबाट सहयोग

रुखबाट खसेका बमलाई दक्षिण कोरियाबाट सहयोग
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दैलेख । दैलेखको गुराँस गाउँपालिका–५ बडाखलाका २८ वर्षीय वीरेन्द्र बम गत चैतमा बाख्राका लागि डाले घाँस काट्न जंगल गएका थिए । घाँसको डालो काट्न नपाउँदै उनी रुखबाट खसे । त्यसयता उनको बोली फुटेको छैन् । तल्लो शरिर चल्दैन् । धनरुपाले श्रीमानको उपचारका भएको सम्पत्ती बेचिन् । त्यतिले नपुगेर १० लाख रुपैयाँ ऋण लागेको छ ।

रुखबाट खस्दा वीरेन्द्रको टाउको र ढाडमा गम्भीर चोट लागेको थियो । नेपालगञ्ज मेडिकल कलेजमा चार महिनाको उपचारपछि केही सन्चो भएको छ । आर्थिक अभावमा उपचारमा समस्या भइरहेको थाहा पाएपछि दक्षिण कोरियामा कार्यरत नेपालीहरुले बम परिवारलाई एक लाख सात हजार रुपैयाँ सहयोग गरेका छन् । शुक्रबार वीरेन्द्रनगर नगरपालिका–९ स्थित कोठा भाडामा बस्दै आएका बमको परिवारलाई वडाध्यक्ष सुरेश मानन्धरले दक्षिण कोरियाबाट पठाएको उक्त रकम हस्तान्तरण गरे । ‘दक्षिण कोरियामा रहेका नेपालीहरुले पठाएको आर्थिक सहयोगले अर्को महिना पिसान नलीको अप्रेशनका लागि पुग्ने भयो,’ धनरुपाले भनिन्, ‘सम्पत्ती बाँकी छैन्, अझै सहयोगको खाँचो छ ।’

दक्षिण कोरियामा कामका लागि गएका नेपाली युवाहरुले बेलाबेलामा दुःखमा साथ दिँदै आएका छन् । बमका लागि रकम संकलन अभियानमा संलग्न ललित सारु मगरले सुर्खेतको एवान एजुकेशन सेन्टरमा अध्ययन गरेर दक्षिण कोरियामा गएका पूर्ण बुढा, रितु रिजाल, लोकेश वलीलगायतले रकम संकलन अभियान सञ्चालन गरेको बताए ।

वडाध्यक्ष मानन्धरले दक्षिण कोरियामा पसिना बनाइरहेका नेपालीहरुले नेपालमा दुःख पर्दा नियमित सहयोग गर्ने गरेको बताए । उनले घाइते बमको उपचारका लागि वडा कार्यालयमार्फत पनि सहयोग गर्ने बताए ।