किनमेल गर्दा झोला सटिएपछि‍ प्रहरीकाे साथ

किनमेल गर्दा झोला सटिएपछि‍ प्रहरीकाे साथ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उदयपुर । सामान किनमेल गर्ने क्रममा पसलमा छुटेको झण्डै पौने ३ लाख नगद र सुनसहितको झोला प्रहरीको सहयोगले फिर्ता भएको छ । सामान किन्ने क्रममा कटारी नगरपालिका–७ की ३१ वर्षीया सविना दनुवारले स्थानीय पसलमा छाडेको २ लाख ७९ हजार नगद र झण्डै २० हजार मूल्यको ३ आना सुनसहितको झोला प्रहरीको सहयोगमा ३ घण्टापछि हात पार्न सफल भएकी हुन् ।

                इलाका प्रहरी कार्यालय कटारीका अनुसार दनुवारले कटारी बजारमा सामान किन्ने क्रममा नगद र सुन राखेको झोला छाडेकी थिईन् । भिडभाडमा सामान किनमेल गर्ने क्रममा दुई ग्राहकको एउटै रंगको झोला परेकाले साटिएको कुरा दनुवारले घर पुग्ने बेला मात्र थाहा पाएर प्रहरी गुहारेकी थिईन् । उनको रिपोर्ट अनुसार तत्काल विशेष टोली खटाएर परिचालन गर्दा दनुवारको नगद र सुनसहितको झोला फेला परेको इप्रकाका डिएसपी हेमन्त भण्डारीले बताए ।

                उनका अनुसार एउटै रंगको झोला परेकाले भिडभाडमा सामान किनेर निस्कदा अर्की ग्राहक कटारी–५ की पार्वती खत्रीको झोला लिएर हिडेकाले यस्तो हुन गएको हो । घर पुग्नेबेला मात्र दनुवारले झोला खोलेर हेर्दा नगद र सुन नदेखेपछि आफुहरुलाई खवर आएकाले टोली परिचालन गरेर खोजी गर्दा अटोमा घर जाँदै गरेकी खत्रीबाट दनुवारको झोला फेला परेको भण्डारीले बताए ।

                घट्नामा दनुवार र खत्री दुवैको कुनै दोष नभएको डिएसपी भण्डारीले बताए । हतारमा किनमेल गरेर फर्कदा झोला साटिन पुगेर दनुवारलाई केहीबेर तनाव भए पनि ३ घण्टा नबित्दै सकुशल सामान फेला परेकोमा खुसी भएर दनुवारले प्रहरीलाई धन्यबाद दिएको डिएसपी भण्डारीले बताए ।