अनियमितता भएको भनिएको रकम अढाई महिनापछि किसानलाई वितरण

अनियमितता भएको भनिएको रकम अढाई महिनापछि किसानलाई वितरण
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा सुन्तला ब्लक विस्तार कार्यक्रमको रकम निकासा भएको झण्डै अढाई महिनापछि किसानको हातमा पुगेको छ । कृषि ज्ञान केन्द्रमार्फत दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा, दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँ र दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुमा सुन्तला ब्लक बिस्तार गर्नेक्रममा आर्थिक हिनामिना गरेको आरोप लागेका सुन्तला ब्लक बिकास समितिका अध्यक्ष लक्ष्मीकुमार राई र सचिव मनोज राईले शुक्रबार कृषकलाई रकम वितरण गरेका छन् ।

तीन वडालाई समेटेर सुन्तला ब्लक क्षेत्र विस्तारका लागि आर्थिक वर्ष २०७६÷०७७ मा कृषि ज्ञान केन्द्रले उपलव्ध गराएको ३५ लाख बजेटमध्ये समितिका अध्यक्ष र सचिवमाथि १२ लाख हिनामिना गरेको आरोप लागेको थियो । गत असोज १३ गते गुरुङडाँडामा भएको छलफलमा गरिएको प्रतिवद्धता अनुुसार समितिका अध्यक्ष र सचिवले १० लाख ८८ हजार १५० रुपैयाँ रकम कृषक समुहलाई वितरण गरेको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए । तीन वडाका १५ कृषक समुहलाई रकम वितरण गरेको समितिले केही किसानलाई १ हजार ५४७ बोट सुन्तलाको प्रतिबोट ७० रुपैयाँका दरले मल उपलव्ध गराउने भएको जनाइएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिकामा कृषि ज्ञान केन्द्रमार्फत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ३५ लाख र कृषकको ३५ लाख गरि ७० लाखमा सुन्तला ब्लक बिकास कार्यक्रम लागु गरिएको थियो । ज्ञान केन्द्रबाट प्राप्त हुने कुल बजेट ३५ लाखमध्ये निकासा भएको २८ लाख ४ हजारभित्र सुन्तला ब्लक विकास समितिका अध्यक्ष र सचिवले अनियमितता गरेको दाबी गरिएको थियो । ज्ञान केन्द्रबाट गत असार ३१ गते बजेट निकासा भए पनि मल खरिद तथा सुन्तला रोप्नका लागि खाल्डो खनेका किसानले हालसम्म रकम नपाएपछि सुन्तला ब्लक सञ्चालन समितिका अध्यक्ष र सचिव आर्थिक अनियमिततामा मुछिएका थिए ।