डा. केसीले जुम्लाबाट सुरु गरेको १९औं आमरण अनशन काठमाडौमा तोडे

डा. केसीले जुम्लाबाट सुरु गरेको १९औं आमरण अनशन काठमाडौमा तोडे
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं ।  कर्णालीको जुम्लाको मन्दिरको पाटीबाट डा. गोविन्द केसीले सुरु गरेको १९ औं आमरण अनशन अन्तत तोडेका छन् । डा. केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् । ४६ वर्षीय नेपाली कोरोना संक्रमण भएर निको भएका हुन् ।

शैक्षिक सुधारका विभिन्न माग राख्दै अनशनरत डा. गोविन्द केसी र सरकारबीच गएराती ८ बुँदे सहमति भएपछि अनशन तोडेका हुन् । यो सहमति भएसंगै विगत २८ दिनदेखि अनशनरत डाक्टर केसीले आइतबार बिहान अनशन तोडेका छन ।

शनिबार सरकारी वार्ता टोलीले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गरेर डा. केसीसँगै ठोस वार्ता गरेपछि सहमति जुटेको हो ।

यसअघि बिहीबार र शुक्रबारका वार्ता विनानिष्कर्ष टुंगिएका थिए । सरकारले डा. गोविन्द केसीसँग वार्ता गर्न बुधबार तीन सदस्यीय टोली गठन गरेको थियो भने डाक्टर केसी पक्षले पनि वार्ता टोली गठन गरेको थियो ।

डा. केसी र सरकारी पक्षबीच शनिबार मध्यरातमा तेस्रो पटक भएको वार्तामार्फत सहमति जुटेको हो । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डा.केसीले हस्ताक्षर गरेका छन ।

सहमतिमा उल्लेख भएका बुँदाहरुको कार्यान्वयन नेपाल सरकारका सम्बन्धित निकाय तथा अन्य सम्बद्ध निकायहरुले गर्ने सहमति भएको छ । त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति पनि भएको छ ।

त्यसैगरी विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति निश्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसन्बन्धी विधेयकमा समेट्न तीन साताभित्र मस्यौदा बनाउने र कानूनी व्यवस्था नहुँदासम् वरिष्ठता र कार्यक्षमताका आधारमा गर्ने सहमति भएको छ ।

वार्ताटोलीमा सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव मैनालीसहित स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मा रहेका थिए । डाक्टर केसीका तर्फबाट डाक्टर जीवन क्षेत्री र अधिवक्ता ओमप्रकाश अर्यालसहित चार जना सहभागी थिए ।