मुख्यमन्त्रीविरुद्ध सत्तारुढ दलकै अविश्वास प्रस्ताव

मुख्यमन्त्रीविरुद्ध सत्तारुढ दलकै अविश्वास प्रस्ताव
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दलकै सांसदहरूले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपाका ३३ सांसद छन् । तिमध्ये १८ जना सांसदले संसदीय दलका नेता एवम् मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

सांसद यामलाल कँडेलको नेतृत्वमा आइतबार मुख्यमन्त्री कार्यालय पुगेका १८ जना सांसदले शाहीविरुद्धको अविश्वास प्रस्ताव प्रमुख सचेतक गुलावजंग शाहलाई बुझाएका थिए । मुलुक संघीयतामा गएपछि गठन भएको प्रदेश सरकारविरुद्ध पहिलोपटक कर्णालीमा अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

संसदीय दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नेतृत्व गरेका पूर्वमन्त्रीसमेत रहेका कँडेलले दल र सरकारको नेतृत्व गरेका मुख्यमन्त्री शाहीले दुवैतर्फ प्रभावकारी काम गर्न नसकेकाले अविश्वासको प्रस्ताव दर्ता गरिएको बताए ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपाका ३३ जना सांसद छन् । तिमध्ये पूर्व एमालेबाट २० र पूर्व माओवादीबाट १३ सांसद प्रदेशसभामा छन् ।अविश्वासको प्रस्तावमा हस्ताक्षरकर्तामध्ये १५ जना पूर्व एमालेका हुन् भने तीनजना पूर्व माओवादीका हुन् ।

को–को हुन् अविश्वास प्रस्ताव दर्ता गर्ने सांसद ?

  यामलाल कँडेल, चन्द्रबहादुर शाही, करबीर शाही, कुर्मराज शाही, अम्मरबहादुर थापा, सुशीलकुमार थापा, मिनासिंह रखाल, दानसिंह परियार, पदमबहादुर रोकाया, पद्मा खड्का, कौशिलावती खत्री, पुष्पा घर्ती विष्ट (उपसभामुख), राजु नेपाली, धर्मराज रेग्मी, खड्कबहादुर खत्री (पूर्वमन्त्री), ठम्मरबहादुर विष्ट, बद्मी क्वारी बोहोरा र देवी ओली