सर्लाहीमा दुई बिघामा लगाईएको गाँजा फाँडियो

सर्लाहीमा दुई बिघामा लगाईएको गाँजा फाँडियो
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सर्लाही । सर्लाही प्रहरीले जिल्लाको उत्तरी चुरे क्षेत्र नारायणखोलामा साँढे दुई बिघामा लगाईएको गाँजा खेती नष्ट पारेको छ ।

ईलाका प्रहरी कार्यालय लालबन्दी र प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरी टोलीले शनिवार दिनभर लगाएर दुई बिघा १० कठ्ठामा लगाएको गाँजाका हुर्कदै गरेका बिरुवाहरु काटेर नष्ट पारेको हो । मध्यान्ह गएको प्रहरी टोली लालबन्दी नगरपालिका–१४, नारायणखोलामा लगाईएको गाँजाको बोट नष्ट गरेर साँझ अबेर फर्किएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । उक्त क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले गत वर्ष पनि हजारौं गाँजाको बोट नष्ट पारेको थियो ।

साबिक नारायणखोला गाविस अन्तर्गत मोटरदोभान, सत्रकठ्ठा, माइस्थान, हात्तीसुँढे लगायत ठाउँमा गाँजा खेती हुने गरेको प्रहरीले जनाएको छ ।