बीरगन्ज भन्सारबाट निस्केको ट्रकमा लागुऔषध बरामद

पर्सा । भन्सारबाट जाँच पास भएर निस्किएको एउटा ट्रकबाट नेपालमा बिक्रीबितरण र ओसार पसार प्रतिबन्धीत रहेको औषधी प्रहरीले बरामद गरेको छ । वीरगन्जको अलांैस्थित एकीकृत भन्सार चौकी (आईसीपी)बाट निस्केको एचआर ३८ भी ४८९५ नम्बरको भारतीय ट्रकबाट पर्सा प्रहरीले ठूलो परिमाणमा लागू औषध बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरका अनुसार उक्त ट्रकबाट फेनारगन, नुर्फिन, डाइजोपाम र विनसाइरेक्स बरामद भएको छ ।
ट्रकको चालकको क्याबिनभित्र बिभिन्न ठाउँमा र माथिको हुडमा लुकाएर राखिएको अवस्थामा लागू औषध इन्जेक्शनहरु डाइजोपाम २९७ वटा, नुर्फिन २९७ वटा, फेनारगन २९७ वटा गरी कूल ८ सय ९१ एम्पुल इन्जेक्सन बरामद भएको हो । त्यसतै एक सय एमएल प्याक रहेको विनसाइरेक्स समेत एक हजार दुई सय ६ बोतल बरामद छ ।
भारत विहारको सिमावर्ती रक्सौल हर्दिया–४ बस्ने २० वर्षीय ट्रक चालक विक्रान्त पटेल, ट्रकमा रहेका रामबालक राम र आकाश राम समेतलाई प्रहरीले हिरासतमा लिएको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुगौली विर्ताबाट खटिएको टोलीले शनिबार राति करिब १० वीरगन्ज महानगरपालिका–२४ बहुअरी चोक नजिकबाट आईसीपीबाट निस्एिको ट्रक रोकेर चेकजाँच गरेको थियो । चार बोरा, एक कार्टुन र एउटा झोलामा राखेर लुकाइएको अवस्थामा लागु औषध बरामद भएको प्रहरी नायब उपरीक्षक कुँवरले बताए ।

प्रतिकृया दिनुहोस्