हलेसी–धितुङ–भाडबेँसी–रेग्मीटार–रसुवाघाट यातायात सुरु

हलेसी–धितुङ–भाडबेँसी–रेग्मीटार–रसुवाघाट यातायात सुरु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

खोटाङ । खोटाङको हलेसी–धितुङ–भाडबेँसी–रेग्मीटार–रसुवाघाट सडकमा यातायात सेवा सुरु गरिएको छ । हलेसी–धितुङ–भाडबेँसी–रेग्मीटार सडक (२७ किलोमिटर) निर्माण भएपछि हलेसी तुवाचुङ नगरपालिकाबाट खोटेहाङ गाउँपालिकाको रसुवाघाट आवत–जावत गर्ने बस सेवा सुरु गरिएको हो । स्थानीय तह कार्यान्वयनमा आउन अगाडि नै निर्माण सुरु गरिएको सडकलाई स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको आर्थिक लगानीमा पूरा गरेर यातायात सेवा सुरु गरिएको हो ।

संघीय सरकारको ५० लाख, प्रदेश सरकारको ५५ लाख र नगरपालिकाको गरी करिब डेढ करोडमा निर्माण पुरा गरिएको सडकमा आईतबारदेखि बस सञ्चालनमा ल्याइएको हो । दशैं तिहार नजिकिदै गर्दा भाडबेँसीमा आयोजित कार्यक्रममा स्थानीय ९९ वर्षीय वृद्धा तुलसा बुढाथोकीले एकैसाथ हलेसी–धितुङ–भाडबेँसी–रेग्मीटार–रसुवाघाट सडक एबं हलेसी–धितुङ–भाडबेँसी–रेग्मीटार–रसुवाघाट यातायात सेवा उद्घाटन गरेकी छन् । हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र उपमेयर बिमला राईले नै वृद्धा बुढाथोकीमार्फत सडक तथा यातायात सेवा उद्घाटन गराएका हुन् ।

हलेसी–धितुङ–भाडबेँसी–रेग्मीटार सडक गाईघाट–दिक्तेल सडक खण्डको रेग्मीटारमा जोडिएको छ । गाईघाट–दिक्तेल सडकमा जोडिने भएकाले सो सडकमार्फत उदयपुर हुँदै अन्यत्र जान आउनका लागि छोटो बाटो खुलेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । हलेसी–धितुङ–भाडबेँसी–रेग्मीटार सडक बन्नुअघि हलेसीबाट महुरे–बुईपा–बिजयखर्क हुँदै रेग्मीटार पुग्ने घुमाउरो बाटो प्रयोग हुँदैआएको थियो । महुरे–बुईपा–बिजयखर्कभन्दा धितुङ–भाडबेँसी सडक झण्डै दोब्बरले छोटो पर्ने बताइएको छ ।