सीमा सुरक्षाका लागि रसुवागढीमा बिओपी स्थापना

सीमा सुरक्षाका लागि रसुवागढीमा बिओपी स्थापना
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रसुवा । रसुवागढी नाकामा सशस्त्र प्रहरीले सीमा निगरानी चौकी (बिओपी) स्थापना गरेको छ । जिल्लाको रसुवागढी र मालागढीमा बिओपी स्थापना गर्ने लक्ष्य अनुरूप पहिलो चरणमा रसुवागढीमा स्थापना गरिएको हो ।

                २०७१ सालदेखि सञ्चालनमा आएको नाकामा यसअघि सशस्त्रले भन्सारको सुरक्षार्थ राजस्व भन्सार सुरक्षा गुल्म राखेको थियो । त्यही गुल्मलाई अहिले बिओपीमा रूपान्तरण गरिएको हो । पहिले गुल्म हुँदा सशस्त्र प्रहरी नायव उपरीक्षकको नेतृत्वमा एक सय ६० जना सशस्त्र प्रहरी त्यहाँ खटिएका थिए । अहिले बिओपीमा रूपान्तरण भएसँगै सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ५० जना सशस्त्र प्रहरी रहने भएका छन् ।

                चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा कारोबार बढ्दै गएकाले नाकामा सशस्त्र प्रहरीको गुल्म नै आवश्यक रहेको गोसाइँकुण्ड गाउँपालिकाकी उपाध्यक्ष कारग्याल्मो श्रेष्ठले बताइन् ।

                रसुवाबाट चीनको केरुङ जानका लागि रसुवागढी र मालागढीको प्रयोग हुँदै आएको छ । रसुावगढी नाकालाई चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेर रसुवागढी–केरुङ सडक व्यवस्थित बनाएको छ । यसकारण पनि यो नाकामा चाप बढ्दै गएको छ । मालागढीबाट भने पैदल यात्रा गर्न पर्ने भएकाले न्यून आवतजावत हुन्छ ।

                मालागढी क्षेत्रमा प्रहरीको उपस्थिति नरहेकाले अवैध क्रियाकलाप बढ्ने जोखिमलाई मध्यनजर गर्दै त्यहाँ पनि बिओपी स्थापनाका लागि प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्म रसुवाका सशस्त्र प्रहरी नायव उपरीक्षक  लवकुमार सापकोटाले बताए ।

बिओपीको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ बाहिनी मुख्यालयका बाहिनीपति डिआइजी मन्दीप श्रेष्ठले रसुवागढी नाकाबाट दुई किलोमिटर वर टिमुरेमा उद्घाटन गरेका हुन ।