सर्लाहीमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप, गरी पाँच दर्जन बढी घाईते

सर्लाहीमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप, गरी पाँच दर्जन बढी घाईते
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय मलंगवा भित्रै नेपाली कांग्रेसका नेता कार्यकतारु र प्रहरीबीच झडप हुँदा पाँच दर्जन बढी घाईते भएका छन् ।

बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा धर्ना दिन गएका कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । धर्नामा बसिरहेको अवस्थामा प्रहरीले एक्कासी बल प्रयोग गरेको कांग्रेस जिल्ला सभापति एवं संघीय सांसद् नागेन्द्रकुमार रायले आरोप लगाए । प्रहरीले कुनै सूचना वा माईकिङ नै नगरी महिला कार्यकर्ताहरुमाथि एक्कासी लाठी प्रहार गरेको दाबी गरे । जिल्ला सभापति रायले घाईतेहरुको जिल्ला अस्पतालमा उपचार भईरहेको र कतिपयलाई बाहिर रेफर गर्नुपर्ने अवस्था रहेको बताए ।

प्रदर्शनमा जिल्ला उपसभापति सुरेन्द्रप्रसाद सिंह, पूर्व जिल्ला सभापति लक्ष्मण राय, प्रदेश सांसद् वीरेन्द्रप्रसाद सिंह, उपेन्द्र कुशवाहा लगायत सयौंको संख्यामा कांग्रेस कार्यकर्ता गएका थिए । प्रहरीको भनाइ अनुसार जबर्जस्ती कार्यालयभित्रै ठूलो संख्यामा नेता कार्यकर्ता छिर्न खोजेपछि बाध्य भएर बल प्रयोग गर्नुपरेको छ । प्रदर्शनकारीहरुले सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गरेपछि बल प्रयोग गर्नुपरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए । घटना नियन्त्रणमा लिन लाठी प्रहार सहित ३१ सेल अश्रुग्याँस प्रहार गरिएको छ । प्रबक्ता कुँवरसँगै सहयोगका लागि गएका ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उद्यवसिंह भाटसहित नेपाल प्रहरीका २२ जना सामान्य घाईते भएको प्रहरीको दाबी छ । प्रदर्शनकारीले प्रहार गरेको ढुंगाले लागेर सुरक्षाकर्मीहरुको हात, खुट्टा सहित शरिरका विभिन्न भागमा सामान्य चोटपटक लागेको छ । ढुंगा प्रहारबाट जिल्ला प्रहरी कार्यालयको झ्यालको सिसाहरुमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

कांग्रेसले आफ्ना कार्यकर्ता रामनगर गाउँपालिका–७, सिसौटका महेन्द्र रामको गत असोज २१ गते कुटपिटबाट हत्याको भएको र उक्त घटनामा प्रहरीको भूमिका निष्पक्ष नदेखिएको आरोप लगाउँदै आएको छ । कांग्रेसले मृतक महेन्द्र रामलाई शहीद घोषणा गर्न र हत्यामा संलग्नहरुलाई तत्कालै पक्राउ गरेर मुद्दा दायर गर्न माग गर्दै बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय अगाडी नै प्रदर्शन गरेको हो । प्रहरीले घटनामा संलग्न मुख्य दोषी पक्राउ नगरी झारा टार्ने हिसाबले केहीलाई पक्राउ गरेर राजनीतिकरण गराएको कांग्रेसले आरोप लगाउँदै आएको छ । उपचार गर्दागर्दै वीरगंजमै मृत्यु भएका रामको शव अहिलेपनि नारायणी उपक्षेत्रिय अस्पताल वीरगंजमै रहेको छ । यता जिल्ला प्रहरी कार्यालयले भने घटना संलग्न भएको आरोपमा तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाईएको बताउँदै आएको छ ।