अवैध सामानसहित २ जना पक्राउ

अवैध सामानसहित २ जना पक्राउ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ । कोरोना भाइरस संक्रमण फैलिएपछि नेपाल–भारत सीमा क्षेत्र चैतदेखि बन्द गरिए पनि अवैधरूपमा मानिस आवतजावत र चोरी तस्करी रोकिएको छैन ।

प्रदेश १ को झापा, मोरङ र सुनसरीसँग भारतको सीमा जोडिएका विभिन्न स्थानमा सुरक्षाकर्मी तैनाथ भए पनि मानिस र मालसामान चोरी तस्करी रोकिएको छैन । कारण कोरोना संक्रमण फैलिन नदिनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमाको विभिन्न ठाउँमा सानो टुकी (पोष्ट)बनाउँदै गस्ती गरे पनि आवतजावत रोकिएको छैन ।

अवैध बाटोबाट भन्सार छली ल्याउँदै गरेको लत्ताकपडा, रजनिगन्धा, कस्मेटिक र दुई जना मानिसलाई विराटनगरको छुट्टाछुट्टै दुई स्थानबाट पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

भारतको जोगबनीबाट अवैधरूपमा ल्याउँदै गरेको लत्ताकपडासहित विराटनगर–१५ का १८ वर्षीय अविनाश साहलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राई जानकारी दिए । साहलाई बुधबार बिहान ३ः४५ बजेतिर जोगबनीतर्फबाट आउँदै गर्दा विराटनगरको महेन्द्र चोकमा पक्राउ गरेको हो । प्रदेश १–०२–००२ ह ८६२१ नम्बरको टेम्पोमा राखेर साहले अवैधरूपमा कपडा ल्याएको र बरामद गरिएको कपडासहित साहलाई विराटनगर भन्सारमा बुझाएको डिएसपी राईले बताए ।

त्यस्तै, विराटनगर–१५ सुडी बस्तीका १८ वर्षीय भोला चौधरीलाई प्रहरीले बुधबार बिहान ४ बजेतिर अवैधरूपमा रजनिगन्धा, तुलसी र कस्मेटिकका सामानसहित पक्राउ गरेको डिएसपी राईले बताए । को २ प १७१४ नम्बरको मोटरसाइकलमा जोगबनीबाट विराटनगरतर्फ सामान ल्याउँदै गर्दा विराटनगर–१४ स्थित जतुवा नहर छेउबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ चौधरीलाई आवश्यक कारबाहीका लागि विराटनगर भन्सार बुझाएको प्रहरीले जनाएको छ ।