काम सकेपनि २० अर्ब भुक्तानी नपाएको निर्माण व्यवसायीको गुनासो

काम सकेपनि २० अर्ब भुक्तानी नपाएको निर्माण व्यवसायीको गुनासो
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । निर्माण व्यवसायीले पूर्वाधार क्षेत्रको काम गरेपनि भुक्तानी नपाएके गुनासो गरेका छन् ।  निर्माण सम्पन्न भएका र रनिङ बिलको आधारमा मुलुकभरका आयोजनाबाट २० अर्ब रूपैयाँ भुक्तानी पाउन बाँकी रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले व्यवसायीले गत फागुनदेखि भुक्तानी नपाएको बताए ।

‘प्रदेश सरकार मातहत सञ्चालित धेरै आयोजनाबाट व्यवसायीले भुक्तानी पाएका छैनन् । कोरोना संक्रमणको जोखिममा ज्यानको बाजी राखेर काम गरेपनि भुक्तानी नपाउँदा व्यवसायीलाई दशै मनाउन समेत गाह्रो हुने दाहालले बताए । उनका अनुसार संघ अन्तर्गतका कार्यालयले १५ र प्रदेश मातहतकाले पाँच अर्ब रूपैयाँ भुक्तानी गर्न बाँकी छ । समयमै भुक्तानी नपाउँदा व्यवसायीहरू पेशाबाटै पलायन हुने खतरा उत्पन्न भएको भन्दै महासंघले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।

प्रदेशका निर्माण व्यवसायीले ठेक्का लगाई निर्माण कार्य सम्पन्न भइसकेका योजनाको भुक्तानी पाउन सम्बन्धित निकायमा पटकपटक पत्राचार गरेको महासंघले जनाएको छ । संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरेको तर उनीहरूले पुनः संघीय सरकारलाई फिर्ता गरेका आयोजनामा सकिएको कामको भुक्तानी नहुने समस्या देखिएको व्यवसायीको भनाइ छ ।

महासंघले निर्माण कार्यको भुक्तानी हुन धेरै रकम बाँकी रहेकोले ती परियोजना सम्पन्न नहुन्जेल र भुक्तानी नभएसम्म सम्झौता भएको निकायबाटै व्यवस्थापन गर्न माग गरेको छ ।  

सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले वैदेशिक स्रोतबाट सञ्चालित आयोजनामा पहिलो चौमासिकभित्र भुक्तानी हुन केही समस्या भएपनि समग्रमा अन्य सडकका आयोजनामा भुक्तानीमा समस्या नभएको दाबी गरे । नागरिक नेटवर्कबाट