गाउँमै गाँजा तथा सुर्ती प्रशोधन गर्ने युवा पक्राउ

खोटाङ । गाँजा तथा सुर्ती प्रशोधन एबं विक्रीवितरणमा संलग्न दुई युवा पक्राउ परेका छन् । घरैमा मेसिन ल्याएर गाँजा तथा सुर्ती प्रशोधन एबं विक्रीवितरण गर्दै आएका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा बयाक्ताका अन्दाजी २१ वर्षीय सुवास राई र २३ वर्षका अविन नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । घरैमा गाँजा तथा सुर्ती प्रशोधन गरेर अवैध विक्रीवितरण गर्दैआएको सूचनाका आधारमा राई र नेपालीलाई गाँजा प्रशोधन गर्ने मेसिन, गाँजाको धुलो, प्याक गरिएको तयारी अवस्थाको सुर्ती, सुर्ती प्याक गर्न प्रयोग हुने कच्चा पदार्थ सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । राईको घरबाट अवैधरुपमा गाँजा तथा सुर्ती प्रशोधन गर्दै विक्रीवितरण भइरहेको सूचनाका आधारमा उनीहरुलाई बुधबार जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरिक्षकको कमाण्डमा खटिएका संयुक्त टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमरियाले बताए ।
राईको घरबाट ७ केजी गाँजाको धुलो, गाँजा प्रशोधन गर्ने फलामको एक सेट मेसिन, खोलमा भाले ब्राण्ड राखेर प्याक गरिएको १५ बोरा सुर्ती, दुई बोरा खुला सुर्ती, एक बोरा सुर्ती प्याक गर्ने प्लाष्टिक, महादेव छाप लेखिएको दुई बोरा स्टीकर, एक थान अचानो र फलामको दुई थान दाउ (काट्ने हतियार) बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्