घान्द्रुक क्षेत्रका होटल अनिश्चितकालसम्म बन्द

कास्की । घान्द्रुक क्षेत्रका स्थानीय व्यवसायीले भने अनिश्चितकालसम्म होटल नखोल्ने निर्णय गरेका छन् ।
होटल नखुल्दा यो बेला घुम्न जाने पाहुनाले खानपिन र बास पाउने छैनन् । बाहिरी पाहुनालाई घान्द्रुक प्रवेशमै रोक लगाइएको छ । अहिलेसम्म कोरोना संक्रमणको समस्या नभएको र पाहुना भित्रिन दिँदा गाउँमा संक्रमण फैलिने डर भएकोले अनिश्चितकालसम्मका लागि होटल बन्द गर्ने निर्णय गरेको त्यहाँका व्यवसायीले बताएका छन् । घान्द्रुक क्षेत्रका पर्यटन व्यवसायीको विहीबार बसेको बैठकले पाहुनासँगै गाउँमा संक्रमण भित्रिने डर भएकोले अनिश्चितकालसम्म होटल नखोल्ने निर्णय गरेको घान्द्रुक पर्यटन विकास समितिका अध्यक्ष किसम गुरुङले बताए ।
घान्द्रुकबाट पर्यटकहरु अन्नपूर्ण क्षेत्रको टाढापानी, घोरेपानी, छोमरोङ हुँदै अन्नपुर्ण आधारशिविर पुग्ने गर्छन् । त्यस क्षेत्रका व्यवसायीले समग्र क्षेत्रलाई सेन्चुरी पर्यटन विकास समितिको नाममा बजारीकरण गरिरहेका छन् । सेन्चुरी क्षेत्रभित्रको घान्द्रुक मुख्य प्रवेशबिन्दु हो । अध्यक्ष गुरुङका अनुसार दसैं–तिहारको बिदा पारेर आन्तरिक पाहुना गाउँमा पुग्न सक्ने र त्यसले संक्रमण भित्र्याउने त्रास भएकोले पाहुनालाई निरुत्साहित गर्न चाहेको उनले बताए ।
एबिसी पदमार्गको माछापुच्छ्रे आधारशिविर (एमबिसी)मा होटल संचालन गरिरहेका व्यवसायी बुद्धिबहादुर गुरुङ पनि गाउँमा संक्रमणको त्रास भएकोले अहिलेका लागि होटल खोल्न सकिने अवस्था नरहेको बताउँछन् । छोमरोङ पर्यटन विकास समितिका अध्यक्ष समेत रहेका उनले अब होटल कहिले खोल्ने भन्ने निश्चित नभएको बताए ।
यो क्षेत्रमा मात्र साना ठुला गरि करिब ३ सय होटल रहेका छन् । सेन्चुरी क्षेत्रमा मात्र वर्षमा करिब ७० हजार विदेशी पर्यटक पुग्ने गरेका छन् ।

प्रतिकृया दिनुहोस्