कालो झन्डा गाढेर जलविद्युत्को काममा अवरोध

कालो झन्डा गाढेर जलविद्युत्को काममा अवरोध
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

इलाम । माइखोलामा निर्माणाधीन सुपरमाई–ए जलविद्युत् आयोजनाको काम स्थानीयले ठप्प पारेका छन् । आफूहरूलाई सोध्दै नसोधी दुई खोला जलविद्युत् आयोजनाले प्रयोग गरेको भन्दै स्थानीयले निर्माणस्थलमा कालो झन्डा गाढेका हुन् ।

                आयोजनाले पर्यावरणमा असर पर्नेगरी समाहा र इङ्ला खोलाको पानी माइखोलामा मिसाउन लागेको भन्दै साउनयता स्थानीय आक्रोशित छन् । उनीहरूले केही साताअघि आयोजनाको काम रोक्न चेतावनी दिएका थिए । तर, निर्माणक्रम जारी नै रहेपछि आफूहरू आयोजनास्थल नै पुगेर कालो झन्डा गाढेको संघर्ष समितिका प्रकाश भट्टराईले बताए । ‘आयोजनाले स्थानीयलाई हेपेर कानुनी प्रक्रिया नै नपु¥याइ काम गरिरहेको छ,’ उनले भने, ‘हामी यो आयोजना अघि बढ्न दिँदैनौं ।’

                सन्दकपुर र माइजोगमाई गाउँपालिकाका वडाहरूले पनि कसैलाई थाहै नदिई आयोजना निर्माणका लागि खोला प्रयोग गर्न अनुमति दिएको उनीहरूले आरोप लगाएका छन् । समाहा र इङ्ला खोला प्रयोग गर्ने प्रारम्भिक वातावरणीय परीक्षण नै नगरिएको र आयोजनाको विद्युत् खरिद सम्झौतासमेत आफूहरूलाई नदेखाइएको संघर्ष समितिका कुशबहादुर थेबेले बताए ।

                सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदयबहादुर राईले गाउँपालिकाका कुनैपनि वडाले सुपरमाई–ए जलविद्युत् आयोजनालाई कुनै अनुमति नदिएको बताए ।

                ९.६ मेघावाटको सुपरमाई–ए आयोजनाले केही महिनाअघि उत्पादन थालिसकेको छ । त्यही आयोजनामा समाहा र इङ्ला खोला मिसाउन लागिएपछि स्थानीय आक्रोशित भएका हुन् । सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गर्नुपर्ने १ करोड २७ लाख रुपैयाँ स्थानीय सरकारमार्फत् वितरण गरेको आयोजना प्रवद्र्धक सगरमाथा हाइड्रो पावर प्रालिका प्रबन्ध निर्देशक मोहनविक्रम कार्कीले बताए ।