तस्कार समुहले असईको हत्या, प्रहरी जवान अझै बेपत्ता

तस्कार समुहले असईको हत्या,  प्रहरी जवान अझै बेपत्ता
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कैलाली । धनगढी उपमहानगरपालिका– १० बनकट्टीघाटमा तस्करको समूहले शनिबार राति गस्तीमा रहेका प्रहरी सहायक निरीक्षक गोविन्द बिकको घाँटी रेटेर विभत्स हत्या गरेको छ । हत्या गरेर बिकको शव करिब तीन सय मिटर दक्षिणमा रहेको मोहना नदीमा आइतबार बिहान फेला परेको हो । उनीसँगै गएका प्रहरी जवान रामबहादुर साउँदको अवस्था अझै अज्ञात रहेको छ । शनिबार बेलुकी ८ः३० बजे अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रहरी सहायक निरीक्षक गोविन्द बिक खानाखाइवरी प्रहरी हवल्दार रामबहादुर साउँदलाई मोटरसाइकलमा राखेर गस्तीमा निस्किए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक प्रतीक बिष्टले साँझ गस्तीमा निस्केका बेला सम्पर्कविहीन भएका मध्ये असई बिकको धारिलो हतियारले हत्या गरेको अवस्थामा नदीमा शव फेला परेको जानकारी दिएका छन् ।
घटनास्थलको प्रकृति हेर्दा गस्तीमा रहेका प्रहरी सहायक निरीक्षक बिक र प्रहरी जवान साउँदलाई तस्करको समूहले घेराबन्दी गरेर आक्रमण गरेको देखिएको अनुसन्धानमा खटिएका प्रहरीले बताए । उखुबारीको छेउमा रहेको बाँझो खेतमा लछारपछार भएजस्तो माटो देखिएको छ । छेउमै प्रहरीको एउटा जुत्ता पनि फेला परेको छ । त्यसको करिब ५० मिटर पर स्लिपिङ ब्याग र चप्पल भेटिएको छ । असई बिकले बोकेको एक थान हतियार र गोली फेला परेको छैन । प्रहरी जवान साउँदको खोजीकार्य भइरहेको उनले बताए ।
घटनास्थल नेपाल र भारत दुवैतर्फका तस्करहरुको ट्रान्जिट प्वाइन्ट रहेको स्थानीयले बताएका छन् । ‘गोरुगाडामा भारतबाट सामान ल्याएर उखुबारी छेउमा राख्ने र त्यहाँबाट नेपालतर्फका तस्करहरुले सामान लैजाने गर्छन् । यो नाका भएर भारतमा मटर, भटमास तथा दलहन बस्तु तस्करी हुने गर्छ भने भारतबाट नेपालतर्फ दैनिक उपभोग्य सामाग्री मध्ये चिनी, लुगाकपडा, सुर्तीजन्य पदार्थ, हार्डवेयरका सामग्री, इलेक्ट्रिक्स सामानहरु अवैध आयात हुने गरेको स्थानीयले बताए ।
यो घट्नापछि सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक उत्तम सुवेदी आफै घटनास्थलमा पुगेका छन् । शंकास्पद ११ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए ।