धरान र इटहरीका २ कोरोना संक्रमितको मृत्यु

धरान । सुनसरीको धरान र इटहरी उपमहानगरपालिकामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धरान वडा नं १५ की एक वृद्धा छिन् भने अर्का व्यक्ति(पुरुष) इटहरी १ का छन् । धरान १५ की ७३ बर्षीया वृद्धाको हिजो साँझ मृत्यु भएको हो । संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेकी उनलाई सास फेर्न गाह्रो भएपछि हिजो प्रतिष्ठानको आकस्मिक कक्षमा लगिएको थियो । तर, बेड खाली नभएपछि अक्सिजन सिलिण्डर लगाएर घर फर्काएको केही समयमा नै वृद्धाको मृत्यु भएका १५ नम्बर वडाका अध्यक्ष नरेश इवारमले जानकारी दिए । ‘गाह्रो भएपछि परिवारले इर्मजेन्सीमा लगेको रहेछ, बेड खाली छैन भनेपछि अक्सिजन सिलिण्डर खोजेर घरमा नै ल्याएछन्,’वडाअध्यक्ष इवारमले भने,‘उहाँको हिजो साँझ नै घरमा मृत्यु भयो ।’
छोराहरु धरानको वडा नं ८ मा बसे पनि मृतक वृद्धा भने छोरीसँगै १५ नम्बर वडामा बसेकी थिइन् । उनको शवलाई प्रोटोकल अनुसार सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरिरहेको अध्यक्ष इवारमले जानकारी दिए ।
यस्तै, वीपी प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा इटहरीका एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।इटहरी १ का ७९ बर्षीय वृद्ध पुरुषको आज बिहान ३ बजेर ५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । मृतकलाई असोज २६ गते कोभिड पुष्टि भएको थियो भने २७ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । उनका अनुसार मृतकलाई मुटु, मधुमेहलगायत दीर्घ रोग रहेको थियो ।

प्रतिकृया दिनुहोस्