विराटनगरमा चार कोरोना संक्रमितको मृत्यु

विराटनगरमा चार कोरोना संक्रमितको मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ । पछिल्लो २४ घण्टामा विराटनगरका अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित ४ जनाको मृत्यु भएको छ । नोबेल शिक्षण अस्पतालमा २ जना, कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा १ जना र न्यूरो अस्पतालमा १ जनाको मृत्यु भएको हो ।

मोरङको ग्रामथान गाउँपालिका–४ का ६६ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा सोमबार बिहान ९ बजेतिर मृत्यु भएको नोबेल अस्पतालले जनाएको छ । निमोनियाको समस्या रहेको भनेर अस्पताल ल्याइएको र असोज २९ गते रिपोर्ट पोजिटिभ आएपछि अस्पतालको  आइसोलेसनमा सारेर उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

त्यस्तै, अर्का कोरोना संक्रमिति विराटनगर–३ का ६६ वर्षीय वृद्ध पुरुषको आइतबार राति ११ बजेतिर मृत्यु भएको नोबेल अस्पतालले जनाएको छ । असोज २७ गते रिपोर्ट पोजिटिभ आए पनि वृद्धलाई  होम आइसोलेसनमै राखिएको थियो । उनलाई श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि आइतबार नोबेलको आइसोलेसनमा भर्ना गरिएको प्रबन्धक दाहालले जानकारी दिए ।

त्यसैगरी, विराटनगर–२ की ६० वर्षीया महिलाको उपचारका क्रममा सोमबार बिहान ४ बजेतिर मृत्यु भएको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रले जनाएको छ । असोज २९ गते कोरोना पुष्टिपछि उपचार केन्द्रमा भर्ना गरिएको केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

मोरङको पथरीशनिश्चरे–१ का ५३ वर्षीय पुरुषको सोमबार बिहान ३ बजेतिर उपचारका क्रममा मृत्यु भएको न्यूरो अस्पतालले जनाएको छ । असोज २२ गते कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको थियो । रिपोर्ट आउनुभन्दा अघिल्लै दिन श्वासप्रश्वासमा समस्या भएपछि घरमै अक्सिजन दिएर राखिएको थियो ।

समस्या बढ्दै गएपछि २२ गते अस्पतालको आइसियूमा भर्ना गरी उपचार थाले पनि स्वास्थ्यमा थप समस्या आएपछि भेन्टिलेटर राखिएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले जानकारी दिए । मृतकमा मृगौला सम्बन्धी पुरानै समस्या रहेको र नियमित डाइलासिस गराउँदै आएका थिए ।