प्रदेश १ मा दसैं सुरक्षा योजना कहाँ के छ

प्रदेश १ मा दसैं सुरक्षा योजना कहाँ के छ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विराटनगर । प्रदेश राजधानी विराटनगरसमेत रहेको जिल्ला प्रशासन कार्यालय मोरङले कात्तिक ३ गतेदेखि १२ दिने निषेधाज्ञा जारी गरेको छ । चाडपर्वमा हुने भीडभाडले कोरोना संक्रमणको दर उच्च हुने निष्कर्षसहित मोरङ प्रशासनले कात्तिक १५ राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । जिल्लाभरिका सबै मठमन्दिर, शक्तिपीठ, पण्डाल, मस्जिद, गुम्बा तथा चर्चहरुमा गरिने नित्य पुजा र प्रार्थनाबाहेक सामूहिक रुपमा भेला जम्मा भई गरिने पुजाअर्चना, भजन, किर्तन, कलश यात्रा, बली पुजा एवं मुर्ती विसर्जनलगायतका कार्यहरु गर्न नपाईने प्रशासनले जनाएको छ । सो अवधिमा जिल्लाभरी नै साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म राजमार्ग चल्ने लामो दुरीका सवारीसाधन बाहेक अन्य सवारी साधनहरु सञ्चालनमा पनि रोक लगाइएको छ ।

यसैगरी सुनसरी प्रशासनले पनि चाडपर्वमा भेला भएर सामुहिक रुपमा कार्यक्रम गर्न, शुभकामना आदनप्रदान गर्न र चियापान गर्न रोक लगाएको छ । शिलान्यास, उद्घाटन, प्रशिक्षण तथा सभा सम्मेलन जस्ता सामूहिक रुपमा जमघट भएर गरिने कार्यक्रममा पनि प्रशासनले रोक लगाएको छ ।कोरोना संक्रमणको फैलिँदो जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले शक्तिपिठ तथा मन्दिरमा दर्शन गर्न निषेध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सोमवारबाट लागु हुनेगरी जिल्ला भरनै साँझ ८ बजे देखि बिहान ५ बजे सम्म हिमड्डुल,बजार र छोटो दुरीका यातायातका साधन सञ्चालन गर्न नपाइने गरी निशेधाज्ञा जारी गरेको छ । तर,लामो दुरी सवारी साधन सञ्चालनमा भने प्रतिवन्ध लगाइएको छैन । प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइद्धारा जारी निशेधाज्ञामा जिल्ला भरका सबै मठमन्दिर,गुम्बा,चर्चहरुमा दैनिक रुपमा गरिने नित्य पूजा÷प्रार्थना बाहेक सामुहिक रुपमा भेला जम्मा भइ पूजा,प्रार्थना,भजनकिर्तन,बली पूजा,मूर्ति बिर्सजन लगायतका कार्य गर्न नपाइने भएको छ । यस्तै चाडपर्वको रुपमा सामूहिक रुपमा भेला भइ शुभकामना आदानप्रदान र चियापान जस्ता कार्यक्रमहरु समेत गर्न नपाइने भएको छ । यसैगरी धनकुटा, पाँचथर, इलामलगायतका पहाडी जिल्लाहरुमा पनि स्थानीय प्रशासनले सूचना जारी गरेर भीडभाड नगर्न सूचित गरिसकेको छ । कोरोनाको प्रकोप रहेको तराईको जिल्ला झापामा भने आइतबार साँझसम्म प्रशासनले कुनै सूचना सार्वजनिक गरेको छैन ।