भारतबाट ल्याउँदै गरेको अवैध १० लाख रुपैया बरामद

रौतहट । भारतबाट लुकाएर ल्याउँदै गरेको अवस्थामा रौतहट प्रहरीले दश लाख रुपैया बरामद गरेको छ । भारतबाट अवैध रुपमा नेपालतर्फ भित्र्याइरहेको स्रोत नखुलेको नेपाली दश लाख रुपैयासहित रौतहट प्रहरीले एक जनालाई पक्राउ गर्न सफल भएको छ ।
रौतहटको ईशनाथ नगरपालिका– ७ स्थित सडकमा सबारी साधन तथा पैदल यात्रीहलाई चेकजाँच गर्ने क्रममा भारततर्फबाट नेपालको जयनगर गाउँतर्फ आउँदै गरेको ना ५३ प ६२८४ नम्बरको मोटरसाइकल चढेका बाराको सिम्रौनगढ नगरपालिका ७ का २० वर्षीय दीपक पटेलको हेलमेटबाट प्रहरीले स्रोत नखुलेको नेपाली १० लाख रुपैया बरामद गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका पटेलले हेलमेटभित्र एक हजार रुपैया दरको आठवटा र पाँच सय रुपैया दरको चारवटा गड्डी गरी १० लाख रुपैया लुकाएर ल्याउँदै गरेको अवस्थामा पक्राउ परेका हुन् । प्रहरीले मोटरसाइकलसहित पटेललाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।
गत असोज १५ गते पनि रौतहट प्रहरीले १५ लाख रुपैयासहित एक जनालाई पक्राउ गरेको थियो । भारतबाट नेपाली रुपैया आउने क्रम बढेको पुष्टि भएको छ । एक महिना नबित्दै नेपाल प्रहरीले २५ लाख रुपैया बरामद गरिसकेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि सिद्धिविक्रम शाहले जानकारी गराएका छन् ।

प्रतिकृया दिनुहोस्