बेवारिसे १० बोरा सुर्ति बरामद

बेवारिसे १० बोरा सुर्ति बरामद
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उदयपुर । उदयपुर प्रहरीले त्रियुगा बसपार्कबाट १ लाख ५० हजारभन्दा बढी मूल्य पर्ने बेवारिसे सुर्ति फेला पारेर नियन्त्रणमा लिएको छ । त्रियुगा नगरपालिका– ३ सदरमुकाम गाईघाटको त्रियुगा बसपार्कमा बेवारिसे अवस्थामा छाडिराखेको अवस्थामा भेटिएको १० बोरा सुर्ति आईतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।

                शनिबार दिउँसो १ बजे नै बसपार्कमा १० वटा भरिएका बोरा बेवारिसे अवस्थामा छाडिराखेको भेटिएको थियो । बसपार्कमा ड्युटीमा खटेको प्रहरीले बोराका खात त्यत्तिकै फालिराखेको भेटेर सोधीखोजी गर्दा कसैले दावी गर्न नआएपछि रातभर त्यही छाडेको थियो । तर, आईतबारसम्म पनि बोरा मेरो हो भन्ने दावी गर्न नआएपछि खोलेर हेर्दा सुर्ति भेटिएको प्रहरीले जनाएको छ ।

                ठूलो परिमाणको सुर्ति कुनै व्यापारीले कानुनी आधार प्रमाणविना जिल्ला भित्र्याएको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीको आँखा छलेर ल्याएको सुर्ति गाडीले खसालिदिएपछि व्यापारीले लानुअघि नै प्रहरी देखेर कारबाहीको डरले नलगेको हुनसक्ने अनुमान स्थानीयले गरेका छन् । डेढलाख मूल्यको सुर्ति प्रहरीले करदाता सेवा कार्यालय गाईघाटको जिम्मा लगाएको जनाएको छ ।