श्रीमानश्रीमतीसहित आठ जना संक्रमितको मृत्यु

मोरङ । श्रीमानश्रीमतीसहित कोरोना भाइरस संक्रमित आठ जनाको एकै दिन विराटनगरमा मृत्यु भएको छ । पाँच महिला र तीन पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
विराटनगरस्थित कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा ३, विराट शिक्षण अस्पताल, न्यूरो, विराट नर्सिङ होम, मोरङ सहकारी अस्पताल र नोबेल शिक्षण अस्पतालमा १–१ जनाको उपचारका क्रममा मृत्यु भएको अस्पतालहरूले जनाएका छन् ।
मोरङको रंगेली–३ का ८५ वर्षीय वृद्ध पुरुष र ८१ वर्षीय वृद्धा महिलाको उपचारका क्रममा मृत्यु भएको हो । दुवै श्रीमानश्रीमती कोरोना भाइरस संक्रमित भई अस्पतालमा उपचाररत थिए । वृद्ध पुरुषको उपचारका क्रममा सोमबार राति १२ बजेतिर मृत्यु भएको विराट नर्सिङ होमले जनाएको छ । असोज २८ गते पिसिआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनलाई ज्वरो आउने र श्वासप्रश्वासमा समस्या रहेको अस्पतालले जनाएको छ ।
वृद्धा महिलाको मंगलबार बिहान ११ बजेतिर उपचारका क्रममा मोरङ सहकारी अस्पतालमा मृत्यु भएको परिवारले जनाएको छ । गत मंगलबार ज्वारो, उल्टी आएपछि अस्पताल भर्ना गरिएको थियो । वृद्धाको अस्पताल भर्नासँगै गरिएको स्वाब पिसिआर परीक्षणको रिपोर्ट ५ दिनपछि आउँदा पोजेटिभ देखिएको मृतकका छोराले बताए ।
‘अस्पताल भर्ना गरेको ५ दिनपछि पोजेटिभ रिपोर्ट आयो,’ मृतकका छोराले भने, ‘कोरोनाकै कारण बुवाआमालाई एकै दिन (राति र बिहान)जस्तो गुमाउनु प¥यो ।’ छोराका अनुसार वृद्धालाई दमको पुरानो समस्या रहेको र अहिले निमुनिया देखिएको अस्पतालले बताएको उनले भने ।
त्यस्तै, विराटनगर–१२ की ६४ वर्षीया वृद्धा महिलाको मंगलबार बिहान ४ः४५ बजेतिर उपचारका क्रममा मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि सोमबार उपचारका लागि कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको थियो ।
त्यसैगरी, मोरङ कटहरी–२ की २१ वर्षीया युवतीको मंगलबार बिहान ५ः३० बजेतिर कोसीकै उपचार केन्द्रमा मृत्यु भएको हो । आइतबार कोरोना पुष्टि भएपछि उपचारका लागि त्यही दिन केन्द्रमा भर्ना गरिएको केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जनाकारी दिए ।
सुनसरीको इटहरी–५ का ३८ वर्षीय पुरुषको सोमबार साँझ ६ः३० बजेतिर कोसीमै मृत्यु भएको छ । उनको रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेसन बस्दै आएको र सोमबार दिउँसो श्वासप्रश्वासमा समस्या भएपछि केन्द्रमा भर्ना गरिएको बस्नेतले बताए ।
विराटनगर–१० का ६४ वर्षीय वृद्धको मंगलबार बिहान ५ बजे उपचारका क्रममा मृत्यु भएको न्यूरो अस्पतालले जनाएको छ । असोज १५ गते कोरोना पुष्टि भएका उनलाई असोज २४ न्यूरोको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
विराटनगर–७ की ६९ वर्षीय वृद्धा महिलाको मंगलबार बिहान ८ बजेतिर उपचारका क्रममा मृत्यु भएको नोबेल शिक्षण अस्पतालले जनाएको छ । असोज २६ गते रिपोर्ट पोजेटिभ आएको र स्वास्थ्यमा समस्या आएपछि शनिबार अस्पताल भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
झापा विर्तामोड– ४ की ७६ वर्षीया वृद्ध महिलाको उपचारका क्रममा मंगलबार बिहान ८ः५० बजेतिर मृत्यु भएको विराट शिक्षण अस्पतालले जनाएको छ । कोरोना पुष्टि भएपछि निमोनियाको समस्या रहेकी वृद्धालाई उपचारका लागि असोज ३० गते अस्पतालमा भर्ना गरिएको अस्पतालले जनाएको छ ।

प्रतिकृया दिनुहोस्