उदयपुरको चुरे आसपासका बस्तीमा हात्ती आतंक

उदयपुरको चुरे आसपासका बस्तीमा हात्ती आतंक
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उदयपुर । उदयपुरको चुरे जंगल आसपासका बस्तीमा जंगली हात्तीले आतंक मच्चाएको छ । सप्तरीसँग जोडिएको सीमाक्षेत्र चुरे जंगलछेउछाउ त्रियुगा नगरपालिका ५ र ६ का बिभिन्न बस्तीमा हात्तीको समूह पसेर सोमबार राति ३ घर भत्काउनुका साथै अन्नपात खाएर गाउँलेलाई आतंकित पारेको पीडितहरुले बताएका छन् ।

६।७ वटाको समूहमा आएको हात्तीले त्रियुगा ५ पिपलचौरीका कविर थापामगर, बसन्त थापामगर र हिरालाल थापामगरको घर भत्काएर घरभित्रको अन्नपात र जाँड रक्सी (मदिरा) खाईदिनुका साथै नष्ट गरिदिएको छ । मध्यराति आएको हात्ती समूहले सुतिरहेका बेला घर भत्काउन थालेको थाहा पाएर अन्य सदस्य भागे पनि मस्त निन्द्रामा रहेका कविर र उनका ४ वर्षीय छोरा २।३ घण्टा हात्तीको घेराभित्र बस्नुपरेको पीडितलाई उद्धृत गर्दै डिभिजन वन कार्यालयले जनाएको छ । सुतिरहेका बेला हात्तीले घर भत्काउँदै अन्नपात खान थालेपछि व्युँझेका बाउ–छोरा हात्ती देखेपछि डराएर खाटमुनि लुक्नु परेको हो ।

प्रत्यक्षदर्शीका अनुसार हात्तीको समूह गाउँ पसेर विध्वंश मच्चाउने गरेको बताएका छन् । सोमबार साँझसम्म त्रियुगा ६ का पात्लेबास, लालपत्ता आसपासको चुरे जंगलभित्र हात्तीहरु डुल्दै गरेको स्थानीयले देखेको स्थानीयले बताए । लालपत्ता प्रहरी चौकी इन्चार्ज नरबहादुर खड्कालाई उद्धृत गर्दै साहले बताए अनुसार हात्तीका कारण त्रियुगा ५ का खारखोला, बुर्जाकान्ला र त्रियृुगा ६ का लालपत्ता, पात्लेबास, घनचक्रे, मोहनपुर, माटीखोला, बोजेआसपास चुरेसँग जोडिएका बस्तीबासी आतंकित भएका छन् ।