सुनसरीमा चाडपर्व सुरक्षामाकरिब १२ सय प्रहरी परिचालन हुने

सुनसरीमा चाडपर्व सुरक्षामाकरिब १२ सय प्रहरी परिचालन हुने
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले चाडपर्व लक्षित सुरक्षा योजना तयार गरेको छ ।

जिल्ला प्रहरी प्रमुख तथा एसपी कमल थापाका अनुसार जिल्लाभरि सुरक्षा योजना अन्तर्गत जिल्लामा करिब १२ सय प्रहरी परिचालन भएको छ । एक जना एसपी, ३ जना डिएसपी र ११ जना प्रहरी निरीक्षकसहित १२ सय प्रहरी परिचालन भएका छन् । दशैं, तिहार र छठ पर्वको बेला हुनसक्ने घटनाहरुलाई ध्यान दिदै प्रहरी प्रमुख आफै परिचालन हुने गरि सुरक्षा योजना तयार गरिएको छ । चाडपर्वको बेला मानिसहरुको गतिविधि बढी हुने, आर्थिक र धार्मिक गतिविधि पनि बढ्ने हुँदा अपराधको घटनाहरु पनि बढी हुने सम्भावना हुन्छ ।

‘जिल्लाको समग्र सुरक्षा अवस्था, अपराधिक गतिविधिको अनुगमन, निर्देशन लगायत प्रमुखबाट नै हुनेछ,’प्रहरी प्रमुख तथा एसपी थापाले भने,‘जिल्लाभरिको सम्पुर्ण सुरक्षाको अनुगमन गर्न डिएसपीको कमाण्डमा एउटा र प्रहरी निरिक्षकको कमाण्डमा एउटा टोली परिचालन पनि शुरु भइसकेको छ ।’ उनका अनुसार चारपांग्रे सवारीसाधानमा पनि आवश्यक जनशक्ति र १७ वटा मोवाइल टोली परिचालन गरिएको छ । यस्तै, मोटरसाइकलमा ७० वटा क्विक रेस्पोन्स टिम(क्युआरटि), साइकल गस्ती ६ वठा र पैदल गस्ती १२ वटा तयार भएको छ । साथै, चाडपर्वमा हुने अपराधिक कार्य गर्नेलाई पक्राउ गर्न, सुचना संकलन गर्नलगायत कार्यमा १० वटा सादा पोशाकको टोली पनि परिचालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयले मुख्य बजार, चोक, भित्रि एरियालगायतलाई सुरक्षित बनाउन ९५ वटा पिकेटको व्यवस्थाप पनि गरेको छ । दुर्घटनालाई न्युनिकरण गर्न जिल्लाभरि चेकिङलाई तीब्रता दिइएको पनि एसपी थापाले बताए । ‘जिल्लाभरि ३० वटा चेकिङको व्यवस्था गरिएको छ, उपयुक्त स्थान र टिम फरक पारेर पुर्वपश्चिम राजमार्ग, कोशी राजमार्ग र भित्रि सडकहरुमा चेकिङ गर्नेछ,’उनले भने,‘महेन्द्र राजमार्ग र कोशी राजमार्गमा ट्राफिक प्रहरीसहित चौबिसै घण्टा चेकिङको व्यवस्था छ ।’