पौडेल पक्षलाई सभापति देउवाको जवाफ: ‘मैले विभाग बनाइसके, अरु विषयमा छलफल गरौं ।’

पौडेल पक्षलाई सभापति देउवाको जवाफ: ‘मैले विभाग बनाइसके, अरु विषयमा छलफल गरौं ।’
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभाग गठन बाहेकका विषयमा छलफल गर्न तयार रहेको बताएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले उठाएको १६ बुँदे मागबारे छलफल गर्न सोमबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी, पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यको बैठकमा देउवाले भने, ‘मैले विभाग बनाइसकेँ, अरु विषयमा कुरा गर्न तयार छु ।’

देउवाले चार वर्षसम्म बनाएका विभागहरु १४औं महाधिवेशनको मिति तय भइसकेपछि गठन गरेका छन् । यो विधान विपरीत भएकाले खारेज गर्नुपर्ने पौडेल समूहको माग छ ।

पौडेल समूहले विभाग गठन, क्रियाशील सदस्यता, समाजयोजनबारे २७ केन्द्रीय सदस्यको हस्ताक्षरसहित १२ असोजमा पार्टीमा १६ बुँदे विरोधपत्र बुझाएको थियो । १९ असोजको केन्द्रीय कार्यसमिति बैठक अघि त्यसबारे छलफल गर्न १७ असोजमा बैठक बसेको थियो ।

बैठकको सुरुमा उपसभापति विमलेन्द्र निधिले अरु दलबाट आएकाहरुलाई दिइएको क्रियाशील सदस्यता विधानको व्यवस्थाअनुसार नै केन्द्रीय कार्यसमितिले दिइएको दाबी थियो । तर नेता महेश आचार्यले सम्बन्धित तहबाट क्रियाशील सदस्यता माग भएपछि केन्द्रीय समितिले दिने व्यवस्था रहेकोले प्रक्रिया पूरा नभएको बताए ।

बैठकमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले फागुनमा महाधिवेशन हुन नसक्ने भएकाले नयाँ मिति तोकेर कार्यतालिका बनाउनुपर्ने बताए । साथै पौडेल समूहले उठाएका विषयमा यसरी छलफल गरेर सहमति हुन नसक्ने भन्दै सानो समूह बनाएर छलफल गर्नुपर्ने बताए । बैठक भोलि मंगलबार फेरि बस्नेछ ।