ओली-प्रचण्डलाई नेकपा प्रवक्ता श्रेष्ठको पत्र : यी हुन् सुझाव, आपत्ति र असहमतिका विषय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले नेकपा अध्यक्षद्वयलाई पार्टीको सचिवालय बैठक बोलाउन माग गरेका छन् । कोरोना भाइरसको महामारीले नागरिकमा पारेको असर न्युनिकरणमा पहल गर्न, पार्टीमा देखिएको अन्यौलता हटाउन र यसअघिका बैठकका निर्णय कार्यान्वयनका लागि श्रेष्ठले सचिवालय बैठकको माग गरेका हुन् ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्राचार गर्दै श्रेष्ठले वर्तमान स्वास्थ्य संकटको समाधानमा सरकारको प्रभावकारी भूमिकाका लागि सुझाव पनि दिएका छन् । उनले कोरोना भाइरसको संक्रमणका कारण श्रमजीवी वर्गमा परेको नकरात्मक असर हटाउने उपायसमेत सुझाव दिएका छन् । आर्थिक क्षेत्रमा परेको असर न्यूनिकरणका लागि पहल गर्न पनि पत्रमा आग्रह गरिएको छ ।
कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेका प्रयास अपर्याप्त र जनताले महसुस गर्न नसक्नेस्तरका भएको तथा सरकार संकीर्ण दायरामा हराएको पत्रमा उल्लेख छ । उनले रोजगारी गुमाएकालाई न्यूनतम वेतन सरकारले उपलब्ध गराउनु पर्नेमा जोड दिएका छन् ।
प्रधानमन्त्रीले ‘रअ’ प्रमुखसँग भेटेकोमा आपत्ति
प्रधानमन्त्रीको हैसियतमा अध्यक्ष ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग परराष्ट्र मन्त्रालयको संस्थागत जानकारी र उपस्थितिबिना कुटनीतिक आचारसंहिता एवं मूल्यको उल्लंघन गरेर गरेको भेटवार्तामा श्रेष्ठले आपत्ति जनाएका छन् । उनले ‘रअ’ प्रमुखसँगको भेटवार्ता गलत भएको, राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा एवं कुटनीतिक ओझलाई गिराउने कार्य गरेको र पार्टी तथा सरकारको छविमा नकरात्मक असर पुर्याएकाले असहमति जनाएको उल्लेख गरेका छन् ।
कोरोना संक्रमित नागरिकको उपचार र पिसिआर परीक्षणको शुल्क लिने सरकारी निर्णयमा पनि श्रेष्ठले आपत्ति जनाएका छन् । उनले परीक्षण र उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री ओलीले प्रदेश सरकारलाई संघीय सरकारको ‘प्रशासनिक युनिट’ बताएकोमा पनि आपत्ति जनाउँदै श्रेष्ठले संविधानको प्रावधान र संघीयताको मान्यताको विरुद्धको अभिव्यक्ति तत्काल सच्चाइयोस भनेर माग पनि गरेका छन् ।

प्रतिकृया दिनुहोस्