अस्पतालले उपचार नगरेपछि घर फर्केकी नरमायाले शाैचालयमा गरिन, आत्महत्या

अस्पतालले उपचार नगरेपछि घर फर्केकी नरमायाले शाैचालयमा गरिन, आत्महत्या
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विराटनगर । रतुवामाई नगरपालिका–१०, मोरङकी ४० वर्षीया नरमाया मगरले अस्पतालमा उपचार नपाएपछि आत्महत्या गरेकी छिन । स्वास्थ्यमा समस्या देखिएपछि कात्तिक ८ गते बिराटनगरस्थित नोबेल मेडिकलमा भर्ना भएकी उनलाई काेराेना पुष्ठी भयाे । यही कारण अस्पतालले उपचार गर्न मानेन र उनले आफ्नै घरकाे शाैचलयमा आत्महत्या गरेकी छिन ।

नरमायाका श्रीमान टेकबहादुरका अनुसार मृर्गौलामा समस्या देखिएपछि असारदेखि नियमित डाइलासिस हुँदै आएको थियो । त्यसका लागि नोबेल मेडिकल कलेजमा पालो मिलाइएको थियो । घर टाढा भएकाले श्रीमतीको उपचारका लागि टेकबहादुरले विराटनगरमै डेरा लिए ।

कात्तिक ९ गते बिहान करिब ३ बजेतिर डाइलसिस गरेपछि उनको स्वास्थ्यमा केही सुधार देखियो । तर, त्यही दिन कोरोना संक्रमण भएको रिपाेर्ट आयाे । इमर्जेन्सीमा भर्ना भएकै बेला उनको स्वाब संकलन गरिएको थियो । रिपोर्ट नआउँदासम्म उपचार पाइरहेकी थिइन् । कोरोना संक्रमण पुष्टि भएपछि चिकित्सकले हेर्न मानेनन् ।

सुरुमा स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत उपचार गरेको अस्पतालले कोरोना संक्रमण पुष्टि भएपछि दैनिक १८ हजार रुपैयाँसम्म लाग्ने र उक्त रकम अग्रिम बुझाउनुपर्ने बतायो । तर, टेकबहादुरहरुसँग त्यति रकम थिएन । अस्पतालले घर लैजा भन्यो ।

उनीसामू श्रीमतीलाई घर लैजानुको विकल्प रहेन । जे होला होला भन्दै ९ कात्तिक बेलुकी श्रीमतीलाई घर लिएर गए । भोलिपल्ट वडादसैंको टीका थियो । बिहान श्रीमानसँग गफ गरेकी नरमायाले दिउँसो पासो लागेर आत्महत्या गरिन् । टेकबहादुर भन्छन्, ‘अस्पतालमै राख्न पाएको भए यस्तो हुने थिएन ।’

यता नोबेल मेडिकल कलेजले कोरोना संक्रमितलाई घर नपठाएको दाबी गरेको छ ।