मुम्बई इन्डियनस इन्डियन आइपिएलको फाइनलमा

मुम्बई इन्डियनस इन्डियन आइपिएलको फाइनलमा
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी /मुम्बई इन्डियनस इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा प्रवेश गरेको छ । बिहिबार राती पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई आइपिएलमा छैटौं पटक फाइनलमा प्रवेश गरेको हो ।

यसअघि मुम्बई पाँच पटक फाइनलमा पुग्दा चार पटक उपाधि जितेको थियो । जितको लागि २ सय १ रनको विजयी लक्ष्य पछएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन बनायो । दिल्लीका मार्कस स्टोइनिसले ४६ बलमा ६ चौका र ३ छक्का सहित सर्वाधिक ६५ रनको योगदान दिए ।

दिल्लीले खराब सुरुवात गरेको थियो । शीर्षक्रमका तीन ब्याट्सम्यानले खाता खोल्न सकेनन् । ट्रेन्ट बोल्टले ओपनर पृथ्वी शालाई दोस्रो बलमा क्विन्टन डी ककबाट शून्यमा आउट गरे । पाँचौ बलमा अजिंक्या रहाणे शून्यमा एलबिडब्लू आउट हुन पुगे । दोस्रो ओभरको दोस्रो बलमा जस्प्रित बुमराहले योर्कर बलमा शिखर धवनलाई शून्यमा बोल्ड आउट गरेका थिए ।

श्रेयस ऐर १२ रनमा क्याच आउट भएपनि दिल्लीको जित कठिन बनेको थियो । एक समय दिल्लीले प्रमुख तीन विकेट गुमाउँदा कुनै रन जोडेको थिएन । तल्लोक्रममा ऋषभ पन्त ३ रनमा क्याच आउट भए । अक्षर पटेल ३३ बलमा २ चौका र ३ छक्का सहित ४२ रनको योगदान दिदा कागिसो रबाडाले १५ रनको योगदान दिए ।

फाइनल प्रवेशको लागि दिल्लीले थप एक मौका पाउने छ । शुक्रबार एलिमिनेटरमा सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेंगलोरबीच प्रतिस्पर्धा हुने छ । जसको विजेताले दिल्ली क्यापिटल्ससँग फाइनल प्रवेशको लागि आइतबार प्रतिस्पर्धा गर्ने छ । फाइनल मंगलबार हुने छ ।