एउटै गाउँमा चारहजार बोट गाँजा फडानी

उदयपुर । उदयपुरको एउटै गाउँपालिकामा लगाइएको ४ हजारभन्दा बढी बोट अवैध गाँजा खेती प्रहरीले फाँडेर नष्ट गरेको छ । जिल्लाको ताप्ली गाउँपालिका ५ रुपाटार प्रहरी चौकीबाट खटेको टोलीले बिहीबार र शुक्रबार दुई दिन लगाएर ताप्लीका बिभिन्न गाउँबस्तीमा लगाइएको गाँजा खेती फँडानी गरेको हो ।
बिहीबार खटेको टोलीले ताप्ली ४ लखनडाँडास्थित एउटै गाउँमा लगाइएको ६ रोपनी जमिनको गाँजा खेती नष्ट गरेको थियो । त्यस्तै सोही चौकीबाट खटेको शुक्रबारको टोलीले सोही वडाको थुम्की र थानागाउँको २ रोपनी क्षेत्रफल जमिनमा लगाइएको १ हजार बोट गाँजा खेती नष्ट गरेको चौकीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्लामा लगाइएको अवैध गाँजा खेती नष्ट गर्ने अभियानअन्तर्गत टोली खटाएर बिभिन्न ठाउँमा गाँजा फँडानी गर्ने क्रम चलिरहेको जिल्ला प्रहरी प्रमुख एसपी भीम दाहालले बताए ।
उनका अनुसार यसअघि पनि प्रहरीले ३१ हजार बोट गाँजा फँडानी गरेर नष्ट गरिसकेको छ । यसअघि जिल्लाको बेलका नगरपालिका ७ र ८ नं.वडामा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको हो । बेलकास्थित इलाका प्रहरी कार्यालय रामपुर ठोक्शीलाबाट खटेको टोलीले बेलका ७ र ८ का बिभिन्न गाउँमा लगाइएको ३१ हजारभन्दा बढी बोट गाँजा दुईदिन लगाएर फँडानी गरी नष्ट गरेको हो । खासगरी पहाडी भेगमा मौलाउँदै गरेको गाँजा खेती नष्ट गर्ने क्रम वर्षेनी प्रहरीले गर्दै आएको छ । वर्षेनी फँडानी गरेर नष्ट गर्ने गरे पनि गाँजा खेती गर्ने क्रम भने रोकिएको छैन ।
पहाडी भेगमा सिंचाईको सुविधा नभएका कारण अन्नबाली राम्रो उत्पादन नहुने हुँदा परम्परागत कृषि पेशाप्रति स्थानीयको बिकर्षण हुदा नगदे बाली गाँजा खेती मौलाउने गरेको हो ।

प्रतिकृया दिनुहोस्