दूर्घटना बीमा नगरे हिमाल आरोहण अनुमति नपाउने

काठमाडौं । हिमाल आरोहणमा जाने नेपाली नागरिक र पर्वतारोहण पथप्रदर्शकले दूर्घटना बिमा नगरे अरोहण अनुमति नपाउने भएका छन् । आरोहीहरु बिमा नगरी आरोहण अनुमति माग्न आएपछि नेपाल पर्वतारोहण संघले बिमा नगरेसम्म आरोहण अनुमति जारी नहुने सूचना जारी गरेर स्पष्ट पारेको छ ।
नेपाली आरोही र गाइडले अनिवार्य १५ लाख रुपैयाँ बराबरको दूर्घटना बीमा गराउनु पर्छ । संघका अनुसार आरोहण अनुमति माग गर्दा दूर्घटना बीमा गरेको कागजात अनिवार्य रुपमा सक्कल प्रति नै पेश गर्नुपर्ने भएको छ ।साथै आरोही र गाइडको ४ लाख रुपैयाँ बराबरको औषधि उपचार बीमा र १० हजार डलर बराबरको हेलिकोप्टर उद्धार बीमा समेत हुनुपर्ने भएको छ । यी दुई बीमाका लागि बीमा कम्पनीबाट प्रतिवद्धतासहितको पत्र पेश गरेपछि मात्र आरोहण अनुमति दिने संघका महासचिव कुलबहादुर गुरुङले हस्ताक्षर गरी जारी गरेको सूचनामा उल्लेख छ । विदेशी आरोहणले भने सम्बन्धित मुलुकबाटै यो प्रक्रिया पुरा गरी आरोहणमा आउने गर्छन् ।

प्रतिकृया दिनुहोस्