बन्द भएको ७ महिनापछि भेडेटारमा जिपलाइन शुरु

बन्द भएको ७ महिनापछि भेडेटारमा जिपलाइन शुरु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा । प्रदेश १ को प्रमुख पर्यटकीय गन्तव्य भेडेटारबाट गत फागुन २४ गते साहसिक पर्यटन अन्तर्गत जिपलाइन शुरु भएको छ । करिब ७ महिना पछि भेडेटार–देवीथान जिपलाइन पुनः सञ्चालनमा आएको छ । स्वास्थ्य प्रोटोकल पालना गर्दै जिपलाइन सञ्चालनमा ल्याइएको वल्र्ड वाइड ग्रुप प्रालिले जनाएको छ । प्रालिका सञ्चालक केदार थापाले सार्वजनिक यातायात, होटल, बजार सबै खुलेको कारण जिपलाइन पनि स्वास्थ्य प्रोटोकल पालना गर्दै सञ्चालनमा ल्याइएको बताए ।

नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरेर प्रालिले प्रदेश १ को प्रमुख पर्यटकीयस्थल भेडेटारमा जिपलाइन सञ्चालनमा ल्याएको थियो । प्रालिका अनुसार करिब ३ करोड लगानी भएको छ । तर, सञ्चालन लगत्तै लकडाउनले बन्द हुनुपरेपछि लगानीकर्ता निराश हुनु परेको थियो ।

लकडाउन खुलिसकेको र जनजीवन पनि विस्तारै सहज हुदै गएकोले पर्यटन क्षेत्रले गति लिने पर्यटनकर्मीहरुको अपेक्षा छ । भेडेटारमा पनि अहिले आन्तरिक पर्यटकहरुको चहलपहल बढ्न थालेकोले पर्यटन व्यवसायीहरु आशावादी हुदैछन् । ‘झण्डै ६,७ महिना भेडेटारमा पर्यटकहरु शुन्य नै भयो । हामीलाई ठुलो आर्थिक नोक्सानी भयो,’भेडेटार होटल एशोसिएशनका अध्यक्ष जितेन्द्र रुम्दालीले भने,‘हिजो आज पर्यटकहरुको आगमन हुन थालेको छ, जिपलाइन पनि शुरु भयो । हामीलाई केही राहत भएको छ ।’