सुनसरीमा मंसिर ६ गतेसम्म निषेधाज्ञा, तिहारमा देउसी भैलो खेल्न पनि निषेध

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले मंसिर ६ गतेसम्मको लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले भोली सोमबारदेखि लागु हुने गरि मंसिर ६ गतेसम्मको लागि निषेधाज्ञा जारी गरेको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलका अनुसार निषेधाज्ञा जारी भएको यो अवधिमा तिहारमा समुह समुह बनाएर खेलिने देउसी, भैलोलाई पनि निषेध गरिएको छ । ‘निषेधाज्ञा लागु हुने भएकोले यसपाली तिहारमा देउसी, भैलो खेल्न पाइदैन,’सहायक प्रजिअ पोखरेलले भने ।
यस्तै, तिहार लगत्तै तराईमा धुमधामले मनाइने छठ पर्व पनि यसपाली प्रभावित हुने भएको छ । मंसिर ६ गतेसम्मको निषेधाज्ञाले छठ पर्वको बेला पनि नदी, तलाउ, नहर तथा पोखरी आसपासमा भिडभाड गरेर पुजाआजा गर्न निषेध गरेको छ । ‘छठ पर्वको बेला पनि नदी, पोखरी, नहरतिर भिडभाड गरेर पुजाआजा गर्न पाइदैन,’सहायक प्रजिअ पोखरेलले भने ।

प्रतिकृया दिनुहोस्