उदयपुरमा तिहारमा देउसी भैलो र छठमा नदी खोलामा पुजा गर्न निषेध

उदयपुरमा तिहारमा देउसी भैलो र छठमा नदी खोलामा पुजा गर्न निषेध
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उदयपुर । कोभिड महामारीबाट बँच्न र बँचाउन यसवर्षको तिहारमा परम्परागत देउसी भैलो खेल्न प्रशासनले रोक लगाएको छ । दसैंपछि लगातार संक्रमितको संख्या बढ्दै गएकोप्रति सचेत हुँदै विगतमा जस्तो यो तिहारमा देउसी भैलो खेल्न र छठ पर्वमा खोला नदीमा भेला जमघट हुन प्रशासनले रोक लगाएको हो ।

                जिल्ला कोविड संकट व्यवस्थापन समिति (डिसिसिएमसी)को बैठकले संक्रमणको जोखिमबाट जनतालाई बँचाउन देउसी भैलो र छठ कार्यक्रमजस्ता भेला जमघटका गतिबिधिमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी तथा डिसिसिएमसीका अध्यक्ष चक्रपाणी पाण्डेले बताए । उनका अनुसार दसैंमा मानव चलखेल अत्याधिक बढेकाले दसैंपछि भकाभक संक्रमित बढिरहेको हुनाले थप संक्रमण हुन नदिन तिहारमा भीडभाड र जमघटका कार्यक्रममा रोक लगाइएको हो ।

                डिसिसिएमसी बैठकले तिहारमा जमघट हुन नदिन देउसी भैलो बन्दसँगै मठमन्दिरमा सर्वसाधारणले पुुजाआजा गर्न तथा छठ पर्वमा खोला नदी वा ताल तलैयामा भेला हुन बन्देज गर्ने निर्ण गरिएको पाण्डेले बताए । प्रजिअ पाण्डेका अनुसार कोविडबाट बँच्नका लागि सतर्कता अपनाउनु नै मुख्य विकल्प भएकाले देउसी भैलो पुजाआजा जस्ता भेला र जमघट हुने गतिबिधि गर्न रोक लगाउनु परेको हो ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार अहिलेसम्म जिल्लामा ८ हजार ५ सय ४ जनाको पिसिआर जाँच गरिएकोमा २ सय ९४ जना संक्रमित पाइएको छ । यो संख्या दसैंअघिभन्दा दोब्बर बढी हो । संक्रमितमध्ये २ सय १४ जना निको भएर डिस्चार्ज भईसकेका छन् भने ८० जना अझै बिभिन्न अस्पताल र होम आईसोलेसनमा उपचारत रहेका छन् । स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीका अनुसार केही संक्रमितको भने उपचारको क्रममा बिभिन्न अस्पतालमा मृत्यु भईसकेको छ ।