लागु औषधसहित दुई महिला पक्राउ

लागु औषधसहित दुई महिला पक्राउ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ । विराटनगरमा दुई महिलालाई लागुऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।विराटनगर–४ कञ्चनबारीबाट मंगलबार लागुऔषध गाँजा साढे पाँच किलोसहित महिलालाई पक्राउ गरेको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।

धनकुटाको साँगुरीगढी गाउँपालिका–९ की ४० वर्षीया सीता राई र साँगुरीगढी–१ की २० वर्षीया बविता राईलाई गाँजासहित प्रहरीले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डिएसपी कविन्द्र कार्कीले बताए ।

‘प्रहरीको विशेष टोलीले पक्राउ गरिएका दुवै महिला सुनसरीको पकलीमा बस्दै आएका थिए,’ डिएसपी कार्कीले भने, ‘जेब्रा झोलासहित टेम्पोबाट उत्रेर हिँड्दै गर्दा पक्राउ परेकाको झोलामा रहेको पाँचवटा पोका बनाएर राखेको अवस्थामा ५ किलो ७ सय ग्राम गाँजा बरामद गरिएको छ ।’

दुवै जनालाई प्रहरीले यस अघिदेखि नै निगरानीमा राख्दै आएको थियो । डिएसपी कार्कीले भने, ‘तत्काल कारोबारको केही नखुलेको र थप अनुसन्धान र काराबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाएका छौं ।’