कक्षा ११ को परिक्षा सञ्चालन गर्दै गाउँपालिका

खोटाङ . खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले कक्षा ११ को परिक्षा आफै सञ्चालन सुरु गरेको छ । कोरोना भाइरसका कारण अधिकांश पठन–पाठन एबं परिक्षा ठप्प भएको अवस्थामा अवस्थामा दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पालिकास्तरिय प्रश्नपत्र तयार पारेर आइतबारदेखि कक्षा ११ को परिक्षा सुरु गरेको हो । कोरोना भाइरसका कारण कक्षा ११ को परिक्षा सञ्चालन हुन नसकिरहेको अवस्थामा करिव महिना दिनअघि क्याविनेटले स्थानीय तहसँग समन्वय गरेर अवरुद्ध परिक्षा सञ्चालन गर्नसक्ने निर्णय गरेर कार्यविधि पठाएको आधारमा परिक्षा सुरु गरिएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए । संविधानतः माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन स्थानीय तहको भएकाले पनि कक्षा ११ को अवरुद्ध परिक्षा गराउन गाउँपालिका आफै अग्रसर भएका हुन् ।
संघीय सरकारबाट प्राप्त भएको कार्यविधि अनुशार गाउँपालिकाभित्रका पाँच वटा उच्च माबिको संयुक्त बैठकको निर्णय अनुशार कक्षा ११ को परिक्षा सुरु गरिएको हो । गाउँपालिकामा कक्षा ११ को परिक्षा आगामी कात्तिक २८ गतेसम्म सञ्चालन हुने अध्यक्ष राईले बताए । गाउँपालिकाले सुरु गरेको कक्षा ११ को परिक्षामा पाँच उच्च माबिका २८३ परिक्षार्थीमध्ये २४६ परिक्षार्थी सहभागी भएका छन् । कोडिङ र डिकोडिङका आधारमा गाउँपालिकामै उत्तर पुस्तिका जाँच गर्ने र नतिजा प्रकाशन गरिने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामा कक्षा ११ को परिक्षा सञ्चालनका लागि गाउँपालिकाले एकै किसिमका प्रश्नपत्र तयार पारेको छ । महेन्द्रोय माविका ९१ जना विद्यार्थीमध्ये ६ जना, कृष्ण माबि टेम्माका ५१ जनामध्ये ७ जना, सरस्वती माबि डाँडाखर्कका ५९ जनामध्ये ७ जना, शान्ति माबि छोरम्बुका ६५ जनामध्ये १० जना र जनता माबि बतासेका १७ जनामध्ये ७ जना परिक्षार्थी अनुपस्थित भएका छन् ।

प्रतिकृया दिनुहोस्