मेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको कलहले जेष्ठ नागरिकले भत्ता पाएनन्

भक्तपुर। भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालबीचको आपसी कलहले दसै अगाडि नै पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता यो वर्ष तिहार अगाडि पनि नपाउने निश्चित भएको छ । अघिल्ला वर्षहरुमा भए प्रत्येक बर्ष दसैं अगाडि नै पाउने बृद्धभत्ता यो वर्ष नगरपालिकाका मेयर श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत रिजालबीचको कलहले नपाएर पीडित भएका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालमाथि मुख्य गरी मेयर श्रेष्ठले नगरसभाबाट बजेट बिनियोजन भई नियमित रूपमा उपभोक्ता समितिबाट भइरहेका योजनाका कामलाई दसैं अगाडि नै रकम निकासा दिनुपर्ने भए पनि रोक्का गरेको, नगरभित्रको आन्तरिक राजनीतिमा अधिकृतले चलखेल गरेको र नगरका दस्तावेजलाई बदनियतपूर्वक बाहिर पठाएको र वडाध्यक्षहरूसँग मिलेर मेयरविरूद्ध गतिविधि गरेको अरोप लगाएका छन् ।
यी आरोप लगाउँदै नगरपालिकाको ४९ औं कार्यपालिका बैठकले प्रमुख प्रशासकीय अधिकृत रिजाललाई मन्त्रालय नै फिर्ता पठाउने र अर्को अधिकृत माग गने एक मात्रै निर्णय गरेको थियो । कार्यपालिकाको बहुमत सदस्यबाटै उनलाई फिर्ता पठाउने निर्णय गरेको हो ।
मेयरको आरोपलाई प्रमुख प्रशासकीय अधिकृत रिजालले खण्डन गर्दै आएका छन् । उपभोक्ता समिति प्रक्रियाअनुसार नबनेकाले पेश्की भुक्तानी दिन नसकेको प्रमुख प्रशासकीय अधिकृत रिजालको भनाई छ । योजनाको प्राविधिक इस्टिमेट गरेपछि उपभोक्तासँग योजना सम्झौता हुन्छ र पेश्की दिने वा नदिनेजस्ता कुरा आउँछ । तर काम गरिसकेका योजनामा पेश्की दिन नमिल्ने उनले बताए ।
यी दुईको आपसी कलहले नगरपालिकाको कामकाज झण्डै ठप्प प्रायः छ । भवनको नक्सा पास र भवन निर्माण सम्पन्नको प्रमाणपत्र वितरण लगायतका काम ठप्प छन् ।

प्रतिकृया दिनुहोस्