होम आइसोलेसनमा बसेका बिरामीलाई सेवा दिन धरान उपमहानगर वडा कार्यालयले अक्सिजन खरीद गदै

धरान । धरानका जनप्रतिनिधिहरुले अस्पतालको भर नपरि आफै धमाधाम अक्सिजन खरीद गर्न थालेका छन् ।
सबैभन्दा पहिला धरानमा वडा नं १४ कार्यालयले इलेक्ट्रिक अक्सिजन मेशिन खरीद गरेको थियो । केही दिनअघि खरीद गरेको मेशिनले होम आइसोलेसनमा बसेका २ जना संक्रमितहरुलाई सेवा दिइसकेको वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले जानकारी दिए । उनले भने,‘बच्चालाई वाफ दिने मेशिन पनि किनेका छौं । सबै निःशुल्क नै हो । प्राथमिक उपचारको क्रममा संक्रमितहरुलाई गाह्रो हुँदा अक्सिजन दिने मेशिन किनेका हौं, २ जनाले सेवा पाइसके ।’
धरानको वडा नं ८ ले पनि २ वटा इलेक्ट्रिक अक्सिजन मेशिन खरीद गरिसकेको छ । होम आइसोलेसनमा बसेका संक्रमितहरुलाई अक्सिजनको कमी भएर सास फेर्न गाह्रो हुँदा तत्काल अस्पतालमा बेड नपाएर जनप्रतिनिधिहरुले धेरै समस्या भोग्नु परेको वडा सदस्य तथा न्यायिक समिति सदस्यसमेत रहेकी सात्रिवी परियारले बताइन् । वडा नं ८ ले बच्चालाई वाफ दिने मेशिन पनि खरीद गरेको र निःशुल्क सेवा उपलब्ध गराउने जनाएको छ ।
धरानकै वडा नं १६ कार्यालयले भने अक्सिजनको सिलिण्डर नै खरीद गरेको छ । सोनापुरस्थित एक उद्योगमा गएर मंगलबार १० वटा ठुलो साइजको सिलिण्डर खरीद गरेको अध्यक्ष दिलकुमार गिरीले बताए । उनका अनुसार वडा कार्यालयले २० वटा सिलिण्डर खरीद गरेर राख्ने निर्णय गरेको छ । अध्यक्ष गिरीका अनुसार ७० बर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई निमोनियाबाट जोगाउन भ्याक्सिजन दिने पनि निर्णय पनि गरिएको छ ।

प्रतिकृया दिनुहोस्