रौतहटमा विवाहित युवतीको हत्या

रौतहट । रौतहटमा गए राति एक विवाहित युवतीको गोली हानी हत्या भएको छ । रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर ७ लौकाहा टोलका राम अयोध्या साह तेलीकी १८ वर्षीया छोरी अमृताकुमारी साहको अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।
युवतीकी आमा घरबाट बाहिर शौचालय गएको मौका छोपी राति करिब ११ बजे अज्ञात समूह साहको घरमा पसी युवतीको कन्चटमा गोली प्रहार गरेको हो । गोली लागेपछि ढलेकी युवती साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
गत २०७६ फागुनमा युवतीको बिहे सर्लाहीको मधुवनगोठ गाउँका रुपेश साहसित भएको थियो । बिहे भएको केही समयपछि युवतीको एकजना युवकसित प्रेम सम्बन्ध रहेको बाहिर आएको थियो । युवतीका श्रीमान्लाई पनि कसैले गत वैशाखमा चक्कु प्रहार गरेका थिए । युवतीको प्रेमीबाट युवतीको प्रेम सम्बन्धकै कारण चक्कु प्रहार भएको अनुमान युवक पक्षले गरेका थिए । चक्कु प्रहारबाट घाइते श्रीमान् लामो समय उपचारपछि बल्ल निको भएका थिए ।
गत असार महिनामा युवतीको सम्बन्ध विच्छेद भइसकेपछि युवती माइती लौकाहामा नै रहँदै आएको युवतीका काका नेवालाल साहले जानकारी गराएका छन् ।

प्रतिकृया दिनुहोस्