बेलकाको होटलमा आगलागी, ५० लाख क्षति

बेलकाको होटलमा आगलागी, ५० लाख क्षति
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उदयपुर । उदयपुरको बेलका नगरपालिका ८ कोठुस्थित एक होटल र पुस्तकालयमा गएराति आगलागी हुँदा ५० लाखबढीको क्षति भएको छ । उदयपुर र सुनसरीको सीमानास्थल चतारा कोठुस्थित सप्तकोसी नयाँ पुलमा सञ्चालित होटल गन्तब्य किचन र महाकाली पुस्तक पसलमा गएराति आगलागी भएको प्रहरीले जनाएको छ ।

                राति लगभग १० बजेजस्तो समयमा होटल सञ्चालकले पसल बन्द गरेर घर गईसकेपछि एक्कासी देवी गिरीले सञ्चालन गरेको गन्तव्य किचन होटल र घरमा आगो लागेर नष्ट भएको हो । सोही ठाउँमा सञ्चालित खड्ग राईका महाकाली पुस्तक पसल पनि आगोले ध्वस्त पारेको प्रहरी चौकी कोठुलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आगलागीबाट होटलभित्रका किचन सामग्री, भाँडाकुँडा, खाद्यान्न, फर्निचर, फ्रिजलगायत सबै जलेर खरानी भएको गिरीले बताईन् ।

                उनका अनुसार आगलागीमा परेर स्थानीय गान्दीप मान राई र बुद्ध राईको एकतले काठे घर पुरै ध्वस्त भएको हो । सो घर गिरीले भाडामा लिएर होटल सञ्चालन गर्दै आएकी थिईन् । आगलागीको कारण विद्युत सर्ट भएर भएको हुनसक्ने प्रहरीको आशंका छ । अहिलेसम्म कारण नखुलेकाले विद्युत सर्ट भएरै आगलागी भएको हुनुपर्ने ठहर स्थानीयको छ ।