भारतीय पेन्सनधारीका लागि ५ दिन सीमानाका खुल्ने

भारतीय पेन्सनधारीका लागि ५ दिन सीमानाका खुल्ने
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बैतडी । भारतीय पेन्सनधारीको लागि ५ दिन सीमा नाका खुल्ने भएको छ । कोरोना भाइरसको कारण लामो समयदेखि अन्तराष्ट्रिय सीमानाका नखुल्दा भारतमा रोजगारी गरी अवकाश प्राप्त नेपाली नागरिकले निवृतिभरण पाउन सकेका थिएनन् । सीमा पारी झुलाघाट र पिथौरागढस्थित भारतीय बैंकमा निवृतिभरण खाता भएका नेपाली नागरिकको लागि मंसिर ८ देखि १२ गतेसम्म झुलाघाट नाका खोलिन लागेको बैतडीका सहायक  प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए । लामो समयदेखि सीमानाका बन्द भएपछि भारतीय पेन्सनधारी नेपाली नागरिकलाई पेन्सन बुझ्न समस्या भएपछि नाका दुवै देशबिच नाका खोल्ने सहमति भएको हो ।

नेपाल सरकारको निर्णय, जिल्ला प्रशासन कार्यालय बैतडी र  जिल्लाधिकारीको कार्यालय पिथौरागढको समन्वयमा नाका खोल्ने तयारी भएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले जानकारी दिए ।

पेन्सनधारी नागरिकहरुले कोरोनाका कारण सीमा नाका बन्द भएपछि गएको चैतदेखि पेन्सन बुझ्न पाएका छैनन् । पेन्सनधारी नागरिकको समस्यालाई मध्यनजर गरेर नाका खोलिन लागेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नाका खुलेको समयमा पेन्सनधारी नागरिकका साथै अत्यावश्यक र आकस्मिक काम परेकाहरुले समेत आवतजावत गर्न पाउने सहायक प्रमुख जिल्ला अधिकारी नेगीले जानकारी दिए । बैतडीमा करिब एक हजार २ सय बढी भारतीय पेन्सनधारी नागरिक रहेका छन् ।