कोभिड अस्पताल सञ्चालन गर्न स्थानीय तहले मेडिकल अधिकृत पाएनन्

कोभिड अस्पताल सञ्चालन गर्न स्थानीय तहले मेडिकल अधिकृत पाएनन्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बैतडी । कोभिड अस्पताल सञ्चालन गर्न बैतडीका स्थानीय तहले मेडिकल अधिकृत पाउन सकेका छैनन । सरकारले अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्र नभएका देशका सबै स्थानीय तहमा अस्थायी कोभिड अस्पताल बनाउनका लागि बजेट र निर्देशिक जारी गरे पनि  बैतडीका स्थानीय तहले  भने चिकित्सक पाउन सकेका छैनन । १० स्थानिय तह रहेको बैतडीमा दशरथचन्द नगरपालिका बाहेक अन्य स्थानीय तहमा कोभिड अस्थायी अस्पताल सञ्चालनको लागि सरकारले बजेट निकासा गरेको छ ।

पुर्चौडी नगरपालिकाबाहेक ८ वटा स्थानीय तहले कोभिड अस्पताल सञ्चालन गर्न ढिलाई गरेका छन् । पुर्चौडी नगरपालिकाले भने गत कार्तिक २४ गतेबाट अस्पताल सञ्चालनमा ल्याएको छ । अन्य स्थानीय तहहरुले भने दरबन्दी अनुसारका कर्मचारी नपाउँदा अस्पताल सञ्चालनमा ढिलाइ भएको बताएका छन् ।

सरकारले कोभिड अस्पतालका लागि एकजना मेडिकल अधिकृत, २ जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी राख्नका लागि बजेट व्यवस्थापन गरेको थियो । सोही अनुसार बैतडीका स्थानीय तहले कर्मचारी भर्नाको सूचना प्रकाशन गरेको भए पनि कर्मचारी पदपूर्ती गर्न सकेका छैनन । सिगास गाउँपालिकामा असोज २० गते नै कर्मचारी पदपूर्तीका लागी सुचना प्रकाशन गरेको भए पनि अहिलेसम्म मेडिकल अधिकृतको दर्खास्त नपरेको गाउँपालिकाका स्वास्थ्य संयोजक घनश्याम बोहराले जानकारी दिए । तीनपटक सूचना प्रकाशित गरि मेडिकल अधिकृत माग गरे पनि पाउन नसकेको स्वास्थ्य संयोजक बोहराले बताए ।

संघीय सरकारले पठाएको बजेटमा मेडिकल अधिकृतक राख्न नसकिने भएपछि गाउँपालिकाले करार सम्झौता गरी पदपूर्ती गर्ने तयारी गरेको छ । सुर्नया गाउँपालिकाले पनि सुरुमा असोज २ गते कर्मचारीका लागी सुचना प्रकाशन गरेको भए पनि मेडिकल अधिकृतको दरखास्त नपरेको जनाएको छ ।