दलित बस्तीमा आगलागी ७ परिवार घरविहीन
रौतहट । रौतहटको देवाहीगोनाही नगरपालिका वडा नम्बर ७ गोनाहीमा भएको आगलागीमा पाँच जनाको घर जलेर खरानी हुनुका साथै थप दुई जनाको घरमा क्षति पुगेको छ । स्थानीय जागरित राम, किरित राम, रामप्रवेश राम, सर्फलाल राम, रामबलि पासवान, रामविश्वास पासवान, प्रमोद महतोको घरमा आइतबार साँझ आगलागी भएको हो ।
आगलागीलाई स्थानीयबासीसित मिलेर प्रहरीले नियन्त्रणमा लिएको थियो । इलाका प्रहरी कार्यालय देवाहीगोनाहीका प्रहरी निरीक्षक मेदनीप्रसाद साहले आगलागीबाट करिब १३ लाखको क्षति भएको जानकारी गराएका छन् । पाँच जनाको घरमा पूर्ण क्षति र दुई जनाको घरमा आंशिक क्षति भएको प्रनि साहको भनाइ छ । आगलागीको कारण स्पष्ट हुन नसके पनि विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएको छ ।
आगोले बिचल्ली पारेपछि देवाहीगोनाही नगरपालिकाकी उपप्रमुख परनियादेवी पटेलको अगुवाइमा अग्निीपीडितलाई तत्काल राहत सहयोग पनि गरिएको छ । उपप्रमुख पटेलले पीडित परिवारलाई १२ बोरा चामल, छ थान कम्बल, छ थान त्रिपाल तथा साडी, गन्जी, लुंगी, गमछा, झुल, तन्नालगायत अत्यावश्यक सहयोग सामग्री प्रदान गरेकी छन् ।
केही दलित परिवार घरबारविहीन बन्न पुगेकाले सकेसम्म सहयोग गर्नका लागि स्थानीयले आग्रह गरेका छन् । रौतहट क्षेत्र नम्बर ३ का संघीय साँसद प्रभु साहले पनि स्थानीय, प्रदेश तथा संघ सरकारसित अग्निपीडितलाई सहयोग गर्न आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्