पेन्सन बुझ्न गएका ब्यक्ति चढेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

पेन्सन बुझ्न गएका ब्यक्ति चढेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बैतडी । भारतबाट पेन्सन बुझेर आउँदै गरेका ब्यक्तिहरु चढेको जीप बैतडीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना१ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका १० बुड्डामा दिउँसो डेढ बजे तिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा सुर्नया गाउँपालिका–४ का ७५ वर्षीया कलावती चन्द, पाटन नगरपालिका–५ का ७७ वर्षीय भगीरथ पाण्डेय, दशरथचन्द नगरपालिका–५ बस्कोटकी ७२ वर्षीया पार्वती चन्द, सोही ठाउँकी ७० वर्षीया पार्वतीदेवी चन्द र दशरथचन्द नगरपालिका २ का ५८ वर्षीय कृष्ण लावडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए ।

दुर्घटनामा परी ५ जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइररहेको छ । घाइते हुनेमा बैतडीको दशरथचन्द नगरपालिका–९ का ४६ वर्षीय खगेन्द्रप्रसाद जोशी, दोगडाकेदार गाउँपालिका–६ का ५० वर्षीय कृष्णानन्द भट्ट, दशरथचन्द नगरपालिका–२ देहिमाडौंका २२  वर्षीय प्रदिप लावड, दशरथचन्द नगरपालिका–५ का ३५ वर्षीय रविन्द्र चन्द रहेका छन । यस्तै गम्भिर घाइते दशरथचन्द नगरपालिका–४ का ४० वर्षीय जिप चालक गोपालसिंह कार्कीलाई थप उपचारका लागि धनगढी पठाइएको छ ।

तीव्र गतिमा रहेका जिप अनियन्त्रित भएर दुर्घटनामा परेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । दुर्घटना परेर जिप चालक गोपाल कार्कीको टाउको चोट लागेको उपचारका लागि धनगढी पठाइएको जिल्ला प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले बताए ।