बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकको चहलपहल

बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकको चहलपहल
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा मंसिर ३ गते देखि आंशिक रुपमा खुला गरिएपछि पर्यटकीय गतिविधि सुरु भएको छ । सरकारले अघिल्लो शुक्रबार पर्यटकीय स्थलहरु आंशिक रुपमा खुला गर्ने निर्णय गरेको थियो । सरकारको सो निर्णयसँगै न्युनतम स्वास्थ्य सुरक्षा मापदण्ड अबलम्बन गरेर निश्चित स्थानमा पर्यटक आगमन खुला गरिएको लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले बताए ।

लुम्बिनी परिसर प्रवेश गर्ने ९ वटै ढोका मंसिर ३ गते देखि खोलिएको हो । मायादेवी मन्दिर परिसर पनि खुलेको छ । तर मन्दिर खोलिएको छैन । मन्दिर भित्र भौतिक दुरी कायम गर्न समस्या हुने र संक्रमणको जोखीम हुने भएकाले मन्दिर नखोलिएको योजना प्रमुख इन्जिनियर भट्टराईले बताए । मन्दिर भित्र जान नपाएपनि पर्यटकले मायादेवी मन्दिर परिसरको बगैचा, अशोक स्तम्भ, पुष्करिणी पोखरीको अवलोकन गर्न पाउने छन । शान्तिदीप, लिटिल बुद्ध, नहर क्षेत्र, बौद्ध स्तुपा, चाइनिज टेप्पलमा पर्यटक जान पाउछन । तर थाइ, कोरीयन लगायतका केही बिहारहरुमा भने अहिले पनि प्रवेशमा रोक लगाइएको छ ।

योजना प्रमुख भट्टराइका अनुसार कोरोना जोखीमका कारण थर्मल गनले तापक्रम नापेर मात्रै पर्यटकलाई प्रवेश दिइएको छ । मास्क अनिवार्य गरिएको छ । पर्यटककालागि आंशिक रुपमा खुला गरिएको लुम्बिनीमा पछिल्लो ६ दिनमा चारहजार ८ सय आन्तरिक पर्यटकले भ्रमण गरेका छन ।